प्रस, वीरगंज, १३ असोज/
भारतको विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव र काभ्रेपलाञ्चोक–२ का सांसद गोकुलप्रसाद बाँस्कोटा, गङ्गाबहादुर तामाङ तथा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य धु्रवप्रसाद शर्माले बुधवार काभ्रेपलाञ्चोकमा निर्माण सम्पन्न भएका छवटा विद्यालयको संयुक्तरूपमा उद्घाटन गरेका छन् ।

भारत सरकारको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत छवटा विद्यालय रु १९ करोड ७ लाखको लागतमा निर्माण भएको हो । कार्यक्रममा भारतीय राजदूतावासका अधिकारी, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन एकाइ (काभ्रेपलाञ्चोक), बनेपा नगरपालिका, पनौती नगरपालिकाका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता थियो ।

नेपाल सरकारले निर्धारण गरेको भूकम्प–प्रतिरोधी पुनर्निर्माण मापदण्डअनुरूप आजाद माध्यमिक विद्यालय (बनेपा), भगवती माध्यमिक विद्यालय (पाँचखाल), आजाद माध्यमिक विद्यालय (पाँचखाल), दुग्धेश्वर माध्यमिक विद्यालय (पाँचखाल), शारदा माध्यमिक विद्यालय (पनौती) र खाँडादेवी माध्यमिक विद्यालय (चौरी देउराली) गरी छवटा विद्यालयको निर्माण कार्य सम्पन्न भएपछि आज उद्घाटन भएको नेपालस्थित भारतीय राजदूतावासको कार्र्यालयले जनाएको छ ।

विद्यालय निर्माणसँगै दुई हजार बढी विद्यार्थीले राम्रो शैक्षिक वातावरणमा अध्ययन गर्न पाउने भारतीय राजदूतावासले जनाएको छ । नेपालका आठ जिल्लामा भूकम्पले क्षति पु¥याएका शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता जनाएअनुरूप यी छवटा विद्यालय पनि सोही योजना अन्तर्गत निर्माण भएका हुन् । यसरी लाभान्वित हुने आठ जिल्लामा गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ र काठमाडौं छन् । हालसम्म १४ वटा विद्यालयको निर्माण भइसकेको छ भने ५६ वटा विद्यालयमा निर्माण कार्य भइरहेको दूतावासको कार्यालयले जानकारी गराएको छ ।

यसैबीच, काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा खोपासी प्राथमिक उपचार केन्द्रको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य क्षेत्रमा १३२ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको थियो । यो स्वास्थ्य चौकी पनि यसैको हिस्साको रूपमा रहेको छ । साढे सात करोडमा उक्त प्राथमिक उपचार केन्द्रको पुनर्निर्माण हुन लागेको हो । उपचार केन्द्रको निर्माणपछि काभ्रेपलाञ्चोक जिल्लाका करीब १५ हजार मानिसलाई आपत्कालीन, मातृ तथा शिशु स्वास्थ्य र अन्य चिकित्सा सेवा प्रदान हुने दूतावासले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here