चिरञ्जीवी सापकोटा, ठोरी, १३ असोज/
विजया दशमीको अवसरमा वनशक्ति युवा क्लबको आयोजनामा ठोरी गाउँपालिका–२ को खेलमैदानमा बुधवारदेखि दशैं कप–२०७८ फूटबल प्रतियोगिता शुरू भएको छ ।

प्रतियोगिताको उद्घाटन गापा प्रमुख पद्मलाल श्रेष्ठले गरेका थिए । उनले ठोरीवासीको पहिलो रोजाइको खेल फूटबल भएकोले फूटबल खेल्ने खेलाडीलाई तथा फूटबल आयोजना गर्ने समितिहरूलाई गाउँपालिकाले प्रोत्साहन गर्ने गरेको र आगामी दिनमा सहयोग निरन्तर हुने दाबी गरे ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अनजान शाक्यले खेलमा अनुशासनको महŒव हुने हुँदा खेलभरि अनुशासनको पूर्ण पालना गर्न खेलाडीहरूलाई आग्रह गरे । उनले आयोजक समितिको सक्रियताको प्रशंसा पनि गरे ।

उद्घाटन समारोह वनशक्ति युवा क्लबका अध्यक्ष कमल रानाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सपिका मगरले स्वागत र सहजीकरण समाजसेवी नरबहादुर क्षेत्रीले गरेका थिए ।

आजको उद्घाटन खेलमा आयोजक वनशक्ति युवा क्लब पराजित भएको छ । युवा हरियाली ‘बी’ हनुमाननगरले आयोजक वनशक्तिलाई टाइब्रेकरमा दुईका विरुद्ध पाँच गोलअन्तरले पराजित ग-यो । खेल शुरू भएको तीन मिनेटमा वनशक्तिका जोन रानाले पहिलो गोल गरेका थिए । तर खेलको अन्तिम समयमा युवा हरियालीका सरोज तिमल्सिनाले गोल गरी बराबरी पारेपछि टाइब्रेकरबाट खेलको निर्णय गरिएको थियो । आजको खेलको ‘म्यान अफ दि म्याच’ युवा हरियाली क्लबका गोलरक्षक सुमन राना घोषित भए ।

भोलिको पहिलो खेल अमृत युवा क्लब ‘ए’ र निर्मलबस्ती युवा क्लब ‘बी’बीच हुनेछ भने दोस्रो खेल थ्रीस्टार ठोरी–१ र स्वर्ण युवा क्लब ठोरी–५ को बीच हुने आयोजकले जनाएको छ ।
असोज २४ गते फाइनल खेल हुने र खेलको विजेतालाई नगद रु ५२ हजार तथा उपविजेतालाई नगद रु २६ हजार र शिल्ड, मेडल तथा प्रमाणपत्र दिइने आयोजकले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here