ओमप्रकाश चौधरी, सेढवा, १२ असोज/
पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतका मध्यवर्ती क्षेत्र व्यवस्थापनको उपभोक्ता समिति विघटन भएको दुई महीना बितिसक्दा पनि पुनर्गठन हुन सकेको छैन । उपभोक्ता समिति पुनर्गठन नहुँदा सो क्षेत्रका जनसमुदाय सेवाबाट वञ्चित भएका छन् । पर्साको जीराभवानी र ठोरी गाउँपालिकामा रहेका चारवटा मध्यवर्ती समिति क्षेत्रका सर्वसाधारणहरू विभिन्न सेवाबाट वञ्चित भएका छन् ।
मध्यवर्ती क्षेत्र अन्तर्गतका सुनाखरी उपभोक्ता समितिका पूर्वअध्यक्ष भीमबहादुर पाख्रिनले समितिको पुनर्गठन नभएको कारण सर्वसाधारणहरूले समितिमार्फत पाउने काठ, दाउरा, नदीजन्य पदार्थ पाउन नसकेको बताए । उनले निकुञ्जले गरेको आयआर्जन तथा निकुञ्जको राजस्वको ३०–५० प्रतिशत आम्दानी समितिमार्फत खर्च गर्ने व्यवस्था भएको हुँदा सोको लाभ सर्वसाधारणले उपभोग गर्न नपाएको बताए ।
निकुञ्जको बफरजोन जङ्गलको सीमासँग जोडेको मानवबस्तीहरूमा बसोबास गर्ने समुदायको सधैं जङ्गली जनावरहरूबाट धनजनको क्षति हुने गरेकाले निकुञ्जको राजस्वबाट स्थानीयको जीवनस्तर उकास्न खर्च गरिने व्यवस्था छ ।
पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्सामा चार तथा बारामा दुई र मकवानपुरमा सात गरी १३ वटा उपभोक्ता समिति छन् । यस सम्बन्धमा पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भक्तसँग बुझ्दा उनले उपभोक्ता समिति पुनर्गठनको प्रक्रिया शुरू भएको बताए ।
समिति पुनर्गठनको प्रक्रिया अन्तर्गत समितिमा जनसङ्ख्या तथा भौगोलिक आधारमा निर्माण गरिएका समूहको पुनर्गठन गर्नका लागि कर्मचारी खटाइसकेको उनले बताए । प्रक्रिया चाँडै सम्पन्न गरी असोज मसान्तभित्रै सम्पूर्ण मध्यवर्ती उपभोक्ता समिति गठन गरिने सहायक संरक्षण अधिकृत भक्तले बताए ।