प्रस, परवानीपुर, १२ असोज/
चाडपर्व नजीकिंदै गर्दा वीरगंज भएर भन्सार छलीका सामानको तस्करी बढेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले दैनिक लाखौं मूल्यका भन्सार छलीका सामान बरामद गर्नुले पनि तस्करी फस्टयाएको सङ्केत गर्छ । जिल्ला प्रहरी कार्यालय पर्साले गत आइतवार राति एकै दिन ४७ लाख मूल्यको अवैध सामान बरामद गरेको थियो । प्रहरीले वीरगंजबाट नेपालगंजको लागि छुटेको ना.२ख ००२५ नम्बरको ट्रक गण्डक चोकमा चेकजाँच गर्दा बिलबिजक नभएको ४७ लाख मूल्यको सामान बरामद भएको दाबी गरेको छ । सामानको बिल नदेखाएपछि ट्रक चालक ४१ वर्षीय नवीनकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक कारबाईको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

त्यसैगरी, आइतवार राति वीरगंज महानगर–२४ रामगढवा भएर तिलावे पुलतर्फ गइरहेको प्रदेश नं २ ०३–००१–थ ०००१ नम्बरको ट्याक्टरबाट बिलबिजक नभएको ४६ बोरा सुपारी, १० बोरा छोहोडा, ७ बोरा केराउ र ५ बोरा मरिच बरामद गरेको थियो । पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले अवैध सामान बरामद भएपछि चालक धोबिनी गापा–५ का ४५ वर्षीय आलिम अन्सारीलाई पक्राउ गरिएको बताए । उनले सो ट्याक्टरको सामान भारतीय सीमावर्ती क्षेत्र सिकटा लैजाने गरी छिपहरमाई गापाको भिस्वा बजार लान खोजिएको बताए । ट्याक्टरबाट १२ लाख मूल्यको सामान बरामद भएको उनले बताए । बरामद सामान कारबाईको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको उनले बताए ।

यसैगरी, जिप्रका पर्साले विभिन्न स्थानबाट बरामद करीब सात लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरी आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पठाएको छ ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले सोमवार राति नौ बजेको समयमा वीरगंज महानगरको इनर्वा, नगवा र घण्टाघर लिङ्करोडबाट विभिन्नथरीका लत्ताकपडा र मोबाइल कभर बरामद भएको बताए । उनले भन्सार छलीका रु ६ लाख ८३ हजारको सामान बरामद भएको र आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पठाएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here