प्रस, परवानीपुर, ११ असोज/
वीरगंज भन्सार नाका भएर पछिल्लो समय दशैं लक्षित सामानको आयात बढेको छ ।
सामान बढ्दा राजस्व सङ्कलनमा पनि सकारात्मक वृद्धि देखिएको छ । वीरगंज भन्सारको तथ्याङ्क अनुसार चालू आवको गत साउन र भदौ गरी दुई महीनामा रु २७ अर्ब ५३ करोड ६९ लाख ३९ हजार लक्ष्य पाएकोमा करीब रु ५ अर्ब बढी अर्थात् रु ३२ अर्ब ५५ करोड ३१ लाख ३० हजार राजस्व सङ्कलन भएको छ । यो लक्ष्यभन्दा करीब १८ प्रतिशतले बढी हो । जबकि गत आव २०७७/७८ को सोही अवधिमा लक्ष्यको तुलनामा ९५ प्रतिशत राजस्व सङ्कलन भएको थियो । त्यस बेला रु १७ अर्ब १९ करोड ९९ लाख ६१ हजार राजस्व सङ्कलन लक्ष्य पाएकोमा रु १६ अर्ब ४० करोड ७० लाख ८२ हजार राजस्व सङ्कलन भएको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।
चालू आवको साउन र भदौमा भन्सार महसूलतर्फ रु १० अर्ब ७९ करोड २९ लाख ३८ हजार लक्ष्य पाएकोमा रु ११ अर्ब ७२ करोड ५८ लाख ९७ हजार राजस्व सङ्कलन भएको थियो भने मूल्य अभिवृद्धि करतर्फ रु ८ अर्ब ४९ करोड ६१ लाख २७ हजार लक्ष्य पाएकोमा रु १२ अर्ब २६ करोड ४९ लाख ६६ हजार, अन्तःशुल्कतर्फ रु ४ अर्ब ५ करोड १५ लाख ८६ हजार लक्ष्य पाएकोमा रु ४ अर्ब ४१ करोड ५० लाख २२ हजार, पूर्वाधार विकास करतर्फ रु २ अर्ब ११ करोड ७७ लाख ५६ हजार लक्ष्य पाएकोमा रु २ अर्ब ७ करोड ४७ लाख ४२ हजारलगायत गरी कुल रु ३२ अर्ब ५५ करोड ३१ लाख ३० हजार राजस्व सङ्कलन भएको हो ।
गत आव २०७७/७८ को साउन र भदौमा भन्सार महसूलतर्फ रु ७ अर्ब ५ करोड ६९ लाख ८२ हजार लक्ष्य पाएकोमा रु ६ अर्ब ४२ करोड ५५ लाख ९० हजार, मूअकतर्फ रु ६ अर्ब ३५ करोड ५३ लाख ४९ हजार लक्ष्य पाएकोमा रु ६ अर्ब ७ करोड ७ लाख ३७ हजार, अन्तःशुल्कतर्फ रु २ अर्ब १६ करोड २६ लाख ९४ हजार लक्ष्य पाएकोमा रु १ अर्ब ८९ करोड ४६ लाख ९ हजार, पूर्वाधार विकास करतर्फ रु १ अर्ब ४१ करोड ७२ लाख २३ हजार लक्ष्य पाएकोमा रु १ अर्ब २७ लाख २० हजारलगायत गरी कुल रु १७ अर्ब ४० करोड ७० लाख ८२ हजार लक्ष्य पाएको थियो ।
नेपालमा कोरोना महामारी कम भएपछि बजार, कार्यालय, उद्योग, यातायात, होटल, पर्यटन क्षेत्रलगायतका अन्य क्षेत्र बिस्तारै लयमा फर्किन थालेपछि मालसामानको आयात बढेको हो । वीरगंज नाकाबाट डिजेल, पेट्रोल, नयाँ सवारीसाधन, एलपी ग्याँस, सिङ्गल/डबल क्याब (पिकअप भ्यान) भटमास, खजुर (पाम), सूर्यमुखी तेलका कच्चा तेल, एमएस बिलेट, एचआर सिट, एचआर स्ट्रिप्स, भटमास, पोलिथिन दाना, लुब्रिकेन्ट्स, तयारी कपडा, बस, ट्रकका चेसिसलगायतका सामानहरूको आयात पोहोरभन्दा वृद्धि भएको छ ।