राधेश्याम पटेल, वीरगंज, ११ असोज/
नेपाली काङ्ग्रेसको अहिले १४औंं महाधिवेशनको तयारी शुरू छ । भदौ ५ गतेदेखि ७७ मध्ये ५३ जिल्लाबाट शुरू भएको वडा अधिवेशन अहिले गापा र नपा अधिवेशन भइरहेका छन् । हाल ६४ जिल्लामा अधिवेशन चलिरहेको छ भने १३ वटा जिल्लामा अहिले पनि क्रियाशील सदस्य नामावलीबारे छिनोफानो हुन नसकेर अधिवेशन प्रभावित भएको छ । १३ जिल्लामध्ये प्रदेश २ का पर्सादेखि सप्तरीसम्म आठ जिल्ला र बाँकी प्रदेशका पाँच जिल्लामा अहिले पनि क्रियाशील सदस्य नामावलीमा सहमति हुन नसकेर अधिवेशनमा अन्योलता कायमै छ ।
यसैबीच करीब १२ हजार क्रियाशील सदस्य रहेको पर्सामा चाँडै वडा अधिवेशन शुरू हुँदैछ । एक/दुई दिनमैं पर्साका क्रियाशील सदस्यहरूको नामावली आइसकेपछि वडा अधिवेशन प्रारम्भ हुने जिल्ला सभापति अजयकुमार द्विवेदीले बताएका छन् । उनका अनुसार यसै साता नयाँ तालिका अनुसार वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशन गर्ने तयारीमा रहेको बताए । सभापति द्विवेदीले पुरानो तालिका संशोधन हँुदै गएको र चाँडै जिल्लामा अधिवेशन शुरू हुने बताए । पर्साका क्षेत्र नं १, २ र ३ मा विवाद सकिएको र अब जिल्ला अधिवेशनतर्फ बढ्ने उनले बताए । पर्साको क्षेत्र नं १ को वीरगंज महानगरका केही वडामा विवाद थियो भने क्षेत्र नं २ का सातवटा वडामा नयाँ सदस्यता कसैलाई नदिने सहमति भएको छ । यसैगरी, क्षेत्र नं ३ मा पुरानै क्रियाशील सदस्यलाई कायम गरी अधिवेशन गर्ने सहमति बनेको छ ।
सभापतिमा द्विवेदी, कुर्मी, अमात्य र क्षत्रीको चर्चा
नेपाली काङ्ग्रेस पर्साको सभापतिमा आधा दर्जनभन्दा बढी आकाङ्क्षी देखिए पनि चारजनाको नाम चर्चामा छ । पर्साका विभिन्न वडादेखि पालिका हुँदै जिल्लासम्म हुने छलफल तथा बहसमा वर्तमान जिल्ला सभापति अजयकुमार द्विवेदी, संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य, पूर्व जिविस सभापति जनार्दनसिंह क्षत्री र नेता रामनारायण कुर्मीको चर्चा छ । जिल्लामा क्रियाशील सदस्यताको नामावली नआएको र महाधिवेशन प्रतिनिधि नचुनिएसम्म जिल्ला सभापतिका उम्मेदवारहरूले सार्वजनिकरूपमा मुख खोलिरहेका छैनन् । उनीहरू अहिले मौन बसेका छन्, यसैले पनि अड्कलबाजी भइरहेको छ । जिल्ला सभापतिको लागि सङ्घीय सांसदको निर्वाचन क्षेत्रमा हुने क्षेत्रीय अधिवेशनबाट चुनिने क्षेत्रीय सभापतिसहित महाधिवेशन प्रतिनिधिमा समावेश २५ जनाले मात्र सभापतिको निर्वाचन लड्न पाउने विधानमा व्यवस्था छ । काङ्ग्रेसका सातवटा प्रदेशस्तरीय अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय अधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म सकाउनुपर्नेछ । सो अवधिभन्दा अघि जिल्ला अधिवेशन भएन भने दशैंपश्चात् वा केन्द्रीय अधिवेशनपश्चात् पनि जिल्ला अधिवेशन हुन सक्ने सम्भावना छ । पर्सामा वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचन क्षेत्र र अन्तिममा जिल्ला अधिवेशन हुने कार्यतालिकामा छ ।
महानगर सभापतिमा ककसको चर्चा
नेपाली काङ्गेसको वीरगंज महानगर सभापतिमा यसपालि युवा तथा नयाँ अनुहारले उम्मेदवारी घोषणा गर्ने चर्चा छ । वीरगंज महानगरको नगर कमिटीमा व्यवसायी भोला कलवार, पत्रकार दीपेन्द्र चौहान, मनोहर साह, गजेन्द्र पटेल, जीतेन्द्रपुरुष ढकाल, कालु सिंह, मणिन्द्रलाल नेपालीलगायतको उम्मेवारी हुन सक्ने अड्कल गरिएको छ । पत्रकार चौहानले सोमवार महानगर सभापतिमा आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् ।