राकेश यादव, रौतहट, ११ असोज/
रौतहटको चन्द्रपुर नगरपालिका–३ गैंडाटारस्थित कालापानी सामुदायिक वनमा रोहिणीप्रसाद घोरासैनीको झुन्डिएर मृत्यु भएको भनिएको घटना सुनियोजित रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।
गत भदौ २६ गते रोहिणी सामुदायिक वनमा झुन्डिएको अवस्थामा फेला परेको घटनालाई दुई सातापछि नै प्रहरीले हत्या भएको रहस्योद्घाटन गर्न सफल भएको हो ।
सोमवार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गरी हत्या गर्ने अभियुक्तहरू सार्वजनिक गर्दै प्रहरीले तीन लाख रुपैयाँ दिएर सुनियोजितरूपमा रोहिणीको हत्या गरिएको दाबी गरेको छ ।
व्यक्तिगत इबीका कारण पैसा तिरेर हत्या गराएको आरोपमा प्रहरीले हाल चन्द्रपुर नपा–४ कप्तान टोल बस्ने सहदेव भन्ने डोलप्रसाद बोलखेबाहेक गैंडाटारका वर्ष ४५ का प्रह्लाद फुयाँल, हाल पर्सा जिल्लाको पर्सागढी नपा–३ सिर्जना टोल बस्ने वर्ष २४ का रमेश पहारी र जिल्ला नवलपरासी (पूर्वी) कावासोती नपा–८ बस्ने वर्ष २३ का सूर्यबहादुर भण्डारीलाई पक्राउ गरेको छ । घटनाका मुख्य योजनाकार सहदेव भनिने डोलप्रसाद बोलखे फरार रहेको र अन्य सबैलाई पक्राउ गरिएको प्रहरीले बतायो ।
प्रहरीले हत्या सम्बन्धमा मृतक रोहिणीप्रसाद घोरासैनीका बुबा भीमदत्त घोरासैनी धामीझाँक्रीको काम गर्दै आएकाले इबीले हत्या भएको बतायो । सोही गाउँका अभियुक्त सहदेव भन्ने डोलप्रसाद बोलखेको घरपरिवारका सदस्यहरू बिरामी हुने गरेकाले उनले मृतकका बुबालाई नै आरोप लगाइ निजले नै बिरामी पारिदिने गरेको इबी लिइराखेका थिए र २०६३/६४ सालमा मृतकका बुबालाई आक्रमण गरी घाइतेसमेत बनाएका थिए । त्यसपछि सहदेव बसाइँ सरेर गए तर उनले पुरानो इबीलाई भने पालि नै राखेका थिए ।
सोही इबी साँध्नको लागि टोलका अर्का अभियुक्त प्रह्लाद फुयाँललाई तीन महीनाअगाडि तीन लाख रुपैयाँ दिएर मृतक रोहिणीप्रसाद घोरासैनीलाई मार्नका लागि हत्या योजना बनाएको प्रहरी दाबी छ । हत्या योजना बनाएर चारजना मिलेर हत्या गरी रूखमा झुन्ड्याएर आत्महत्या देखाउने प्रयास गरेर उम्कने रणनीति बनाएको प्रहरीको अनुसन्धानबाट देखिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । प्रहरीले घटनाको अनुसन्धान गर्न कुकुरसमेत प्रयोग गरेर हत्यारा पक्राउ गर्न सफल भएको दाबी गरेको छ ।