प्रस, वीरगंज, १० असोज/
सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले सडक, फूटपाथमा खाद्य व्यवसाय गर्नेहरूलाई स्वास्थ्य मापदण्डको पालना गर्दै व्यवसाय सञ्चालन गर्न सुझाएका छन् ।
खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय पर्साको आयोजना र वीरगंज महानगरपालिकाको सहआयोजनामा वीरगंज महानगरको सभाहलमा आयोजित सडकपेटीमा बिक्री हुने खाद्य पदार्थको स्वच्छता अभिवृद्धि प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि सप्रजिअ मल्लले सडक छेउछाउको खाद्य व्यवसाय जोखिमपूर्ण भएको तर त्यहाँ व्यवसाय गर्न बाध्य व्यवसायीहरूले आजको प्रशिक्षणमा सिकाइएका कुराहरूलाई अनुसरण गरेर काम गर्न सुझाए ।
वीरगंज महानगरपालिकाका खाद्य अधिकृत विपिनलाल दासले सडक छेउछाउमा खाद्य व्यवसाय गर्नेहरूको विशेष निगरानी राखिने बताए । उनले सडक छेउछाउमा खाद्य व्यवसाय गर्नेहरूले ताजा र स्वास्थ्यलाई फाइदा पुग्ने खाद्य सामग्रीहरू बिक्री गर्नुका साथै तयार पारिएका खाद्य वस्तुलाई छोपेर राख्ने र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे ।
वीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय पर्साका विकी राउतले कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमा सडकमा खाद्य सामग्री बिक्री गर्नेहरूले सफासुग्घर र व्यवस्थित तरीकाबाट सेवा प्रवाह गर्न उल्लेख छ । यसैगरी, उनले प्लास्टिकका सामानमा खाद्यवस्तु बिक्री नगर्न सुझाए । स्वास्थ्यका लागि धेरै हानिकारक हुने भएकोले यस्ता कुरामा ध्यान दिन आग्रह गरे ।