प्रस, सेढवा, ९ असोज/
सामाजिक अभियन्ता प्रकाश थारूको पहलमा ठोरी गाउँपालिका–३ शिकारीवासमा शनिवार निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लायन्स क्लब अफ वीरगंजको सहयोगमा आयोजित स्वास्थ्य शिविरमा विभिन्न रोगका बिरामीको चेकजाँच गर्नुको साथै निश्शुल्क औषधी वितरण गरिएको थियो । शिविरमा करीब १५० जनाको स्वास्थ्य परीक्षण गरिएको सामाजिक अभियन्ता थारूले बताए ।
फिजिसियन डा उदयनारायण सिंह, डा आरके सिंह, हाडजोर्नी तथा नसा विशेषज्ञ डा दिलीप चौरसियाले स्वास्थ्य परीक्षण गरेका थिए । त्यस्तै, दृष्टि आँखा अस्पताल वीरगंजले आँखा शिविर सञ्चालन गरी करीब ७५ जनाको आँखा जाँच गरी निश्शुल्क औषधी वितरण गरेको थियो ।
दृष्टि आँखा अस्पतालका डा वसन्त पौडेल, डा. जीतेन्द्र पडित र डा रामपुकार चौधरीले आँखा जाँच गरेका थिए । आँखामा समस्या देखिएकाको निश्शुल्क शल्यक्रिया र औषधी उपलब्ध गराइने सामाजिक अभियन्ता थारूले बताए ।