बलिराम शुक्ला, बिरुवागुठी, ८ असोज
पर्साको ग्रामीण भेगमा धान खेतीको बेला पुनः युरिया मलको हाहाकार भएसँगै मलको कालाबजारी शुरू भएको छ। अहिले किसानहरूले युरिया मल दुई हजार मोल तिरेर खरीद गर्नुपरिरहेको एकजना किसानले गुनासो गरे।
उनले पर्सा जिल्लामा युरिया मलको अभाव भएको बेला केही तस्करहरूले ५० किलो युरिया मल, बढीमा नौ सय मोल रहेकोमा, दुई हजारसम्ममा बिक्री गरिहेको बताए।
केही तस्करले सीमावर्ती भारतबाट चोरी पैठारी गरी ल्याएको युरिया मल पनि सोही मोलमा बिक्री गर्दै आएको किसानहरूले बताए।
नेपाली मलको बोरामा उल्टी गरी भारु ३५० पर्ने भारतीय युरिया मल दुई हजारसम्म लिने गरेको किसानले गुनासो गरेका छन्। अहिले किसानहरूलाई युरिया मलको अभाव भएको बेला तस्करीमा खुलेयाम बिक्री हुँदा पनि स्थानीय तह र सुरक्षाकर्मी मुकदर्शक बनेका छन्। स्थानीय शम्भु दासले अहिले किसानलाई युरिया मलको आवश्यकता परेको तर महँगो मूल्य तिर्न नसकेका किसानहरूले बाध्यतावश धानबालीमा डिएपी छर्न थालेको बताए।
पर्सा जिल्लाको मनवा, बडनिहार, बौहर्वा, रङ्गपुर र श्रीपुर पचगावाँ, डकैला बजार आदिमा तस्करीको मल बिक्री भइरहेको किसानहरूले बताएका छन्।