राकेश यादव, रौतहट, ८ असोज/
प्रदेश नम्बर २ का डिआइजीको नाममा रकम सङ्कलन गरेको आरोपमा रौतहटमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ।
गरुडा नगरपालिका, बिर्तास्थित प्रहरी विद्यालयमा स्थायी जागीर लगाइदिने भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रन्जितकारको नाममा पैसा सङ्कलन गरेको आरोपमा सर्लाही हरिवन नगरपालिका–११ की सुशीला थापा दाहाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए।
पक्राउ परेकी महिलाले प्रहरी विद्यालय गरुडामा शिक्षक पदमा स्थायी नियुक्ति गराइदिने भन्दै पर्सा मणिपुरका उदासकुमार पाण्डेसँग ६ लाख रुपियाँ माग गरेकी थिइन।
पाण्डेसँग भएको फोन संवादमा थापाले डिआइजी रंजितकारको नाममा सो रकम माग गरेको अडियो रेकर्डसमेत सार्वजनिक भएको थियो।
प्रदेश प्रहरी प्रमुखले रकम मागेको भन्दै अडियो सार्वजनिक भएपछि थापालाई बिहीवार प्रहरी विद्यालयमा बोलाएका थिए। फोन रेकर्डमा सुनिएको आवाज आफ्नै भएको उनले स्वीकार गरिन्।
इलाका प्रहरी कार्यालय, गरुडाका डिएसपी भण्डारीले घटनाको छानबीनका लागि अहिले उनलाई नियन्त्रणमा राखिएको बताए।