प्रस, रौतहट, ८ असोज/

ईशनाथ नगरपालिकाभित्र अहिले गाई–भैंसी किनबेच बन्द भएको छ।

सशस्त्र प्रहरीले गाईभैसी समात्न थालेपछि किनबेच बन्द भएको हो। बौधीमाई नगरपालिका–३ मटिअर्वा निवासी बहादुरमहतो कोइरीले ईशनाथ नगरपालिका–४ निवासी राजु सिंहसँग रु १ लाख १५ हजारमा भदौ २८ गते भैंसी खरीद गरी ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले पक्राउ गरी भन्सार चलान गरेको कारण सो क्षेत्रमा अहिले गाई भैसी खरीद बन्द भएको स्थानीयले बताए।

भैंसी खरीद गर्दा वडा कार्यालयको सिफारिश तथा करसमेत तिरी ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले पक्राउ गरी लिलामीका लागि भन्सार बुझाउने गरेको स्थानीयले गुनासो व्यक्त गरेका छन्।

सशस्त्र प्रहरीले भारतबाट खरीद गरेको भन्दै भन्सार चलान गरी स्थानीयवासीलाई दुःख दिइरहेको भैंसी खरीदकर्ता कोइरीले आज पत्रकार सम्मेलन गरी आरोप लगाए। उनले ईशनाथ नगरपालिका–४ को सिफारिश र कर तिरेको रसिद देखाउँदा पनि नमानी सशस्त्रले भैंसी र मान्छे पक्राउ गरेको बताए।

नेपाल पत्रकार महासङ्घ, रौतहट शाखाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा भैंसी लिलामी गर्दा सम्बन्धित व्यक्तिलाई जानकारी गराई लिलाम गर्नुपर्ने प्रावधान रहेपनि भैंसी खरीदकर्तालाई कुनै जानकारी नदिई थोरै रकममा लिलाम गरेको उनले आरोप लगाए।

यस सम्बन्धमा गौर भन्सार कार्यालयका प्रमुख सुशील शर्मासँग सम्पर्क गर्दा कार्यालय पाटीमा सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय, रौतहटलाई  जानकारी गराई लिलाम गर्ने प्रावधान अनुरूप नै लिलाम गरेको बताए

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here