सञ्जय मित्र

आजको विज्ञानले अनेक चमत्कार गरेको छ तर हिन्दू धार्मिक साहित्यले हजारौं वर्ष पहिले गरेका कल्पनाहरू पनि अद्भूत छन्। धार्मिक साहित्य यदि इतिहास हो भने वर्तमान युगसम्म आइपुग्दा विज्ञानले पनि अझ केही पाइला हिंड्न बाँकी देखिन्छ।

बुवाले दुईओटा विवाह गरेको अवस्थामा एक सन्तानका दुई आमा सजिलै हुन सक्छ, तर पूर्वीय धार्मिक मान्यतामा एक सन्तान नै दुई आमाको गर्भबाट जन्मेको उल्लेख पाइन्छ। एक सन्तान दुई आमाको गर्भबाट कसरी प्रसव हुन सक्छ ? तर हाम्रा शास्त्रहरूले यस प्रकारको कल्पना गरेको पाइएको छ।

द्वापर युगमा बलरामको जन्म दुई आमाबाट भएको मानिएको छ। शास्त्रहरूले यही कुरालाई स्वीकार गरेको देखिन्छ।

बलराम भनेका कृष्णका दाजु हुन्। बलराम र कृष्णका पिता एकैजना हुन्। पूर्वीय शास्त्रहरूले कैयौं शताब्दी पहिले नै कल्पना गरेको (यसलाई यथार्थ मान्नेहरू पनि छन्, म क्षमा चाहन्छु मैले कल्पना शब्द प्रयोग गरेबाट कसैलाई ठेस लागेको छ भने) गर्भ सङ्कर्षण भएको हो। तत्कालीन अवस्थामा कारागारमा रहेका वसुदेव र देवकीको सातौं सन्तान बलराम मानिन्छन्। देवकीको सातौं गर्भ सङ्कर्षण भई रोहिणीमा सरेको थियो। वर्तमान भूगोललाई यथार्थ मान्ने हो भने गोकुलबाट मथुरा कम्तीमा बाह्र किलोमिटर टाढा छ। बीचमा यमुना नदी बग्दछ।

बलरामको जन्म गोकुलमा भएको हो (कृष्णको जन्म मथुरामा)। बलराम र कृष्ण दाजुभाइ हुन्। हाम्रो समाजमा यससित सम्बन्धित एउटा मिथक प्रचलनमा छ ः

कृष्ण भनेका राम हुन् र बलराम चाहिं लक्ष्मण। विष्णुका अनेक अवतारमा राम दाजु हुने र लक्ष्मण भाइ हुने भएपछि एकपटक रामलाई लक्ष्मणले भनेछन् – कम्तीमा एकपटक मलाई दाजु बन्न दिनुस् र तपाईं भाइ बनिदिनुस्। मलाई पनि दाजु हुँदाको अवस्थामा हुने सुखदुःख थाहा होस्। रामले हुन्छ भनेछन्। के भनिन्छ भने राम विष्णु हुन् र लक्ष्मण शेषनाग। यही शेषनागको आसनमा भगवान् विष्णु क्षीरसागरमा विराजमान छन्। भगवान् विष्णुको सेवा गर्न र लीलाको साक्ष्य बन्न विष्णुको अवतारसँगै शेषनाग पनि कुनै न कुनै भूमिकामा हुन्छन्। द्वापरमा भगवान् विष्णु जब परमावतार श्रीकृष्णको रूपमा धरतीमा आउने भएपछि शेषनागलाई दाजु बनाउन बलरामको रूपमा उनको इच्छा पूरा गर्न दाजु बनाउँछन्। जसरी लक्ष्मणमा तुरुन्तै रिसाउने बानी थियो, त्यसैगरी बलराममा पनि रिसाउने बानी थियो।

गोकुलबाट मथुरा कम्तीमा बाह्र किलोमिटर टाढा छ। यो कुरा यहाँ किन दोहो–याउन खोजिएको हो भने मथुराको कारागारमा रहेकी देवकीको गर्भबाट गोकुलमा नन्दबाबाको घरमा रहेकी रोहिणीको गर्भमा बलरामको गर्भान्तर भएको हो। यसलाई सङ्कर्षण भनिएको छ। यसैले बलरामको अर्को नाम सङ्कर्षण पनि हो। यस सङ्कर्षणमा कुनै किसिमको प्रविधि वा यन्त्रको प्रयोग गरिएको छैन। दुवै माता आआफ्नै ठाउँमा छन्। रातिको समय थियो। दुवै माता सुतेका छन्। गोकुलमा रहेकी माताको गर्भमा मथुरामा कारागारमा रहेकी माताको गर्भबाट गर्भान्तर भएपछि बल्ल थाहा पाउँछन्। मथुराको जेलमा रहेकी देवकीलाई गर्भपात भएको अर्थात् गर्भ तुहिएको जस्तो अनुमान हुन्छ, गर्भ अचानक हराउँछ। कुनै आमाको गर्भ नै अचानक हराएको तर गर्भपात नभएको भन्ने अनुभूति हुँदाको अवस्था कस्तो होला ? कारागारका कर्मचारीहरूले त यही हल्ला फिजाउँछन् कि देवकीको गर्भपात भयो। सातौं सन्तान जन्मनुपूर्व नै म–यो अर्थात् गर्भमा नै खत्तम भयो। तत्काल यो कुरा कसैको ध्यानमा गएन कि गर्भान्तर भएको होला। यस किसिमको गर्भान्तर पहिले हुने गरेको भए सम्भवतः यस विषयमा मानिसले सोच्थे होलान्।

देवकीलाई त गर्भ तुहियो भन्ने लाग्नु एक छिनको लागि अस्वाभाविक होइन तर जसको गर्भमा अचानक सन्तान आएर पूर्ण स्वस्थ भएर आँखा उघार्छ भने आमा र समाजमा तत्काल कस्तो सोचाइ आउला ? रोहिणी त झन्डै नन्दबाबाको घरमा शरणार्थीको रूपमा बसेकी थिइन्। शरणार्थीको रूपमा बसेकी रोहिणी गर्भवती भइन् र रोहिणी आफू गर्भवती भएको त्यति बेला थाहा पाइन् जतिबेला बच्चाको जन्म लिने समय नजीकिइसकेको थियो। आफ्नो गर्भमा बच्चा कहाँबाट आयो ? कसरी आयो ? यस प्रश्नले रोहिणीलाई कम्ति पिरोलेको होला ? हाम्रो समाजमा त यस्तो कुरालाई कसैले पत्याउँदैन। स्वयं रोहिणीलाई घोर आश्चर्य र अप्ठ्यारो भएको थियो। कसरी बताउने कि मेरो गर्भमा सन्तान कहाँबाट आयो। रोहिणीले मनको छटपटी र प्रतिष्ठा जाने डर कसलाई बताउने ? जसको घरमा शरण लिएर बसेकी थिइन्, पहिले उसैलाई बताउनु उचित थियो।

रोहिणीसित यशोदाको कुरो निकै मिल्थ्यो। नन्दबाबाकी पत्नी हुन् यशोदा। कृष्णलाई आफूले जन्म दिएको भ्रम थियो यशोदालाई। कृष्णको जन्म हुनुभन्दा पहिले बलरामको जन्म भएको थियो। बलराम र कृष्ण कारागारमा रहेकी देवकीका सन्तान हुन्। यहाँ प्रसङ्ग बलरामको हो। स्वाभाविक हो, नैतिक वा दैहिक अप्ठ्याराहरू कुनै महिलाले सबैभन्दा पहिले महिलालाई नै बताउँछन्। रोहिणीले पनि यशोदालाई आफ्नो अवस्थाबारे ज्ञान गराउनु आवश्यक थियो। जानकारी नगराउँदा झन् अप्ठ्यारो पर्ने सम्भावना थियो। कसरी रातारात आफ्नो गर्भमा, हुर्केको बच्चा आइपुग्यो भन्ने कुरा रोहिणीले बताइन् यशोदालाई। यशोदा आश्चर्यचकित भइन्। विस्मित यशोदाले नन्दबाबालाई बताइन्। एकबाट दुई हुँदै गोकुलका केही प्रमुख मानिसमा यो आश्चर्यको कुरा पुग्यो। सबैले अनौठो माने, घोर आश्चर्य प्रकट गरे। नन्द परिवारमा एउटा अज्ञात भयावहता पस्रियो। यस अवस्थामा गुरु गर्गाचार्यलाई नभेटी भएन। गुरुले दिव्यदृष्टिले हेरेर बताए यो सङ्कर्षण हो। देवकीको गर्भबाट भगवान् विष्णुको इच्छाले सङ्कर्षण भएको हो। यो ज्यादै शुभ लक्षण हो। कसैले चिन्ता लिनु पर्दैन र रहस्यको कुरो कसैले कसैलाई बताउनु पनि हुँदैन। अब पृथ्वीमा राम्रो हुने सङ्केतको रूपमा यसलाई लिनुपर्ने धारणा गर्गाचार्यको आएपछि सबै ढुक्क हुन्छन्। सबैले यत्ति बुझेका छन् कि गर्गाचार्यसित अप्रतिम सिद्धि छ र उनले जीवनमा कहिल्यै असत्य कुरा गरेका छैनन्। गर्गाचार्यले सत्य बताएपछि गोकुलका प्रधानहरूमा खुशी तथा सन्तोषको सञ्चार हुन्छ। रोहिणी पनि सन्तुष्ट हुन्छिन्। गुरु गर्गाचार्यले ईश्वरको चाहना बताएपछि कसैले अविश्वास गर्ने पक्ष र प्रश्न बाँकी रहेन।

मथुरामा जेलमा रहेकी देवकीको गर्भमा प्रवेश गरेका शेषनाग गोकुलमा रहेकी रोहिणीको गर्भमा गर्भान्तर भई कृष्णको दाजु बनेर बलरामको रूपमा जन्मन्छन्। यसरी सम्भवतः दुई आमाको गर्भबाट जन्मने एक सन्तान बलराम हुन्। हिन्दू दर्शनमा विश्वास राख्ने र शास्त्रको अध्ययन गर्नेहरू यस कुरामा विश्वस्त छन्। रोहिणीले बलराम निकै ठूलो भइसक्दासम्म पनि उनका पिताको नाम बताउन चाहेकी थिइनन् तर गोकुलमा भएका विभिन्न घटनाक्रमले कालान्तरमा बलरामले आफ्ना पिताबारे थाहा पाएका थिए। अनि आफ्नो जन्मबारे पनि बुझेका थिए।

गोकुलमा अहिले पनि गर्वका साथ के भनिन्छ भने बलरामको जन्म यही धरतीमा भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here