- राजेश मिश्र
पर्सा, बारा र रौतहटलगायत जिल्लाहरूमा धार्मिक स्थलहरू प्रशस्त छन्। तीमध्ये हिन्दू धर्मावलम्बीहरूको आराध्य देवी आदिशक्ति विन्ध्यवासिनी माताको शक्तिपीठ वीरगंजदेखि झन्डै ७ किमि पश्चिम अवस्थित छ। करीब १७० वर्षभन्दा बढी पुरानो यस मन्दिरको इतिहास के हो ? यो मन्दिरको स्थापना कसले गरेको थियो ? झन्डै एक हजार किमि टाढा रहेको अहिलेको भारतीय राज्य उत्तर प्रदेशको विन्ध्याचलदेखि २४ घण्टाभित्र माताको अवशेष कसरी नेपाल आइपुग्यो ? पर्साको विन्ध्यवासिनीमा नै माताको अवशेष स्थापना गर्नुको कारण के थियो ? लगायत विन्ध्यवासिनी माताको स्थापनामा तत्कालीन राजा रणबहादुर शाहको भूमिका आदि यस आलेखमा समेटिएको छ।
विभिन्न विद्वान् इतिहासकारहरूले राजा रणबहादुरको जीवनीसँग सम्बन्धित थुप्रै पुस्तक लेखेका छन्। ती पुस्तकहरूमा राजाको जन्म, राज्याभिषेक, विवाह तथा राज्य सञ्चालनका क्रममा भएका विभिन्न गतिविधि आदिबारे सङ्कलन गरेका जानकारी उल्लेख गरेको पाइन्छ। ‘बासठीहरण’ जस्ता प्रसङ्गमा इतिहासकारहरूबीच मतभेद पाइन्छ। धार्मिक प्रकृतिका राजा रणबाहदुर शाहले विन्ध्यवासिनी माताको अवशेष नेपाल ल्याएको कुरा इतिहासकारहरूको पुस्तकमा पाइँदैन। यद्यपि उनीहरूले लेखेका छन्, छोरा गिर्वाण युद्धलाई राजपाट सुम्पेर राजा जोगी बनेर हिंडे। ५ वर्षपछि पुनः नेपाल फर्के। विन्ध्यवासिनी मन्दिरका पुजारी उपाध्याय भन्छन्–रणबहादुर अलौ आए र डोली चढेर धार्मिक यात्रामा भारत गए। यो कुरा राजा रणबहादुरले विन्ध्यवासिनी माताको अवशेष नेपाल ल्याएका हुन् भन्ने विषयसँग मेल खान्छ।
विन्ध्यवासिनी माताको अवशेष नेपाल ल्याइएको घट्नाजस्तै बाहिर नआएका थुप्रै इतिहास आम मानसपटलमा हुन सक्छ। तर यस्ता विषयहरूको खोजी गरी इतिहासमा अङ्कित गर्नेतर्फ इतिहासकारहरूको ध्यान नपुग्नु विडम्बना नै भन्नुपर्छ। विगतमा आजजस्तो सञ्चार संसाधन उपलब्ध थिएन। सञ्चार जगत्को चिन्तनमा यस्ता ऐतिहासिक धरोहरको उत्थानतर्फ ध्यान पुग्नुपर्दछ। सदीयौंदेखि वृद्धवृद्धाका संस्मरणहरू जुन कथाका रूपमा पुस्तान्तरण हुँदै आइरहेको छ, त्यो बाहिर ल्याउनुपर्दछ।
२१औं शताब्दीमा देशको दिगो विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण मानिएको छ। यद्यपि सरकार तथा सरोकारवाला निकायको सुस्त मनस्थितिका कारण अपवादबाहेक अनेकौं ऐतिहासिक तथा धार्मिक स्थलहरू ओझेलमा छन्। संरक्षण तथा उत्थानको पर्खाइमा छन्। स्थानीय सरकारहरूको भूमिका पनि प्रगतिउन्मुख देखिंदैन। विन्ध्यवासिनीलगायत ऐतिहासिक तथा धार्मिक महत्व बोकेका यस्ता तीर्थ स्थलहरूको प्रवद्र्धन गर्न सके सामाजिक र आर्थिक उन्नतिको भरपूर स्रोत बन्न सक्छ।
सदीयौंदेखि विन्ध्यवासिनी मन्दिरका लागि पुजारीको नियुक्ति गुठीद्वारा हुँदै आएको छ। पछिल्लो समय नियुक्त भएका दुई पुजारीमध्ये पुरुषोत्तम उपाध्यायसँग भएको कुराकानी तथा रणबहादुर शाह बारे विभिन्न पुस्तकबाट सङ्कलन गरिएको तथ्यहरूको आधारमा तयार पारिएको यो आलेख प्रस्तुत छ।
पुरूषोत्तम उपाध्याय (पुजारी)
ॐ जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी/दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते।
‘जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री तथा स्वधा’ नामले प्रसिद्ध हे जगदम्बे ! तपाईंहरूलाई कोटिकोटि प्रणाम गर्दछु।
राजेशजी तपाईंले यस मन्दिरको इतिहाससम्बन्धी सोधीखोजी गर्नुभयो, यो पनि माताकै कृपा हो। त्यसैले आदिशक्ति भगवती विन्ध्यवासिनी माताले तपाईं लगायत प्रतीक परिवारलाई अशेष आशिष दिऊन् भनी मातासँग कामना गर्दछु।
बुबा (स्व. रघुनाथ उपाध्याय) को शारीरिक अवस्था कमजोर भएपछि म विसं २०५८ देखि पूजापाठमा बुबालाई सघाउँदै आएको थिएँ। विसं २०६३ मा बुवाको स्वर्गारोहण भएपछि गुठीबाट आधिकारिक पुजारी नियुक्त भएँ। विन्ध्यवासिनी माताको शक्तिपीठ पर्सा जिल्लामा स्थापना हुनुको पछाडि माताकै कृपा हो। राजा रणबहादुर शाह केवल माध्यम थिए।
अब आउँ मूल प्रसङ्गतर्फ– तत्कालीन राजा रणबहादुर शाह धार्मिक प्रकृतिका सिद्ध राजा थिए। रणबहादुर शाह राजपाट छोडेर धार्मिक यात्राको लागि दरबारबाट प्रस्थान गरे। राजा नितान्त सर्वसाधारण नागरिकझैं सन्यासीको वेशभूषामा थिए। उनी पर्सा जिल्लाको अलौ आइपुगे। त्यहाँबाट डोली चढेर प्रस्थान गरे। डोलेहरू अलौका थिए। प्रथमतः उनी पितृतर्पण कर्मको सिलसिलामा भारतको गया पुगे। पुरोहित खोज्न थाले। कर्मकाण्ड गराएबापत दक्षिणास्वरूप अन्नपात, आभूषण र नगद आदि पण्डाहरूको माग थियो। दक्षिणामा केवल सय ग्राम जौ मात्र पाउने कुरा सुनेपछि कोही पनि कर्मकाण्ड गराउन तयार भइरहेका थिएनन्। यद्यपि राजालाई कुनै उद्वेग थिएन। किनभने उनलाई पण्डाहरूको परीक्षा पनि लिनु थियो।
केवल सय ग्राम जौ लिएर न कुनै पण्डा पूजा गराउन तयार भयो, न राजाले त्योभन्दा बढी दिने कुरा गरे। अर्का एक पण्डा नजीक आएर सोधे– “दक्षिणामा के दिने ?” राजाले भने– सयग्राम जौ। ‘बिचरा गरीब मानिस होला, ऊसँग केही छैन भन्ने कुरा पण्डाले मनमनै विचार गर्दै पिण्डदान गराउन तयार भए। पूजा सम्पन्न भएपछि दक्षिणा दिएर पण्डाको बिदाई गर्ने बेला आयो।
राजाले खुकुरी राख्ने दापबाट पण्डाबाबाको गम्छामा जौ खसाली दिए। जौ देखेर पण्डाबाबा आश्चर्यचकित भए। किनकि त्यो खेतमा फल्ने जौ थिएन। त्यो त सुनको जौ थियो। पुरोहितले आश्चर्यचकित मुद्रामा तलदेखि माथि हेर्दै सोच्न थाले–“पक्कै पनि यो साधारण मानिस होइन, अवश्य ठूलै मानिस हुनुपर्छ।” पण्डाले राजालाई वास्तविक परिचय बताउन आग्रह गरे। धेरै बेर सोचविचार गरेपछि उनले आफू नेपालको राजा भएको जानकारी दिंदै अन्य कसैलाई नभन्न आग्रह गरे। सोही बेलादेखि रणबहादुर शाहले नेपाली जनताको हितमा ‘लाल मोहरिया पण्डा’ को चलन स्थापित गरेको मानिन्छ। यसैगरी भारतका अन्य धार्मिक स्थलहरूमा पनि लाल मोहरिया पण्डाको उदय भयो।
गयाबाट काशी (बनारस), प्रयागराज तथा विन्ध्याचल आदि विभिन्न तीर्थस्थल जाने राजाको योजना थियो। धार्मिक स्थलहरूको भ्रमण गर्दै अन्ततः उनी विन्ध्याचल पुगे। राजाले विन्ध्यवासिनी मातासँग पत्नीको रोग तथा राज्यको कलह आदि निवारण हेतु प्रार्थना गरे, उपासना गरे र व्रत बसे। उपासनाको क्रममा राजाले माताको वास नेपालमा पनि होस् भन्दै अनुनय गरे। राजालाई माताको आशीर्वचन आभास भयो।
राजाले माताको आर्शीवचन डोलेहरूलाई अवगत गराउँदै भने– “माताको अवशेष लिएर यहाँबाट हिंडेपछि जहाँ सूर्योदय हुन्छ त्यहीं माताको निवास हुन्छ।” राजासहित सबैजना माताको कृपाप्रति कृतज्ञ भए। मन हर्षित थियो। यद्यपि विन्ध्याचल पर्वतबाट बिहान हिंडेपछि भोलिको सूर्योदयसम्म अर्थात् २४ घण्टामा आफ्नो क्षेत्रमा पुग्ने विश्वास पटक्कै थिएन। त्यसैले तनाव हुनु स्वाभाविक थियो। अन्ततोगत्वा माताको अवशेषसहित सूर्योदयपश्चात् डोली लिएर नेपालको लागि प्रस्थान गरे। दिनभरि हिंड्ने क्रम चलिइरह्यो। गोधुलीको बेला थियो। राजा चिन्तन मुद्रामा माताको सुमिरन गर्न थाले। उज्यालो नहुँदै जब उनीहरू चेतनामा आए, तब डोलीसहित उनीहरू एपउटा गाउँमा थिए। तर कहाँ र कुन गाउँमा थिए ? थाहा थिएन। स्थानीय मानिससँग सोधेपूछ गर्दा आफ्नो क्षेत्रमा प्रवेश गरिसकेको कुरा थाहा भयो। त्यसपछि सबै दङ्ग परे। जय माताको स्वर गुञ्जित भयो। स्थानीयहरू पनि पछि–पछि हिंड्न थाले।
अलौका डोलेहरू आफ्नो गाउँ नजीक आइपुगेकोले खुशीले गद्गद् भए। अहिलेको पर्साको अमरपट्टी गाउँ सोही बेलादेखि अमरपट्टी नामले चिनिन थालेको पुर्खाहरू भन्छन्। त्यसपछि डोलीमा विराजमान विन्ध्यवासिनी माताको जयजयकार गर्दै सबैजना हिंड्न थाले। जहाँ उज्यालो भयो, सोही ठाउँमा डोली राखियो। डोली राखिएको गाउँ थियो, पर्साको बर्वा। पूजापाठ गरेर माताको स्थापना भयो। त्यसपछि बर्वा नै विन्ध्यवासिनीको नामले प्रसिद्ध भयो।
शुरूमा मन्दिर सानो आकारको थियो। स्थापनाकालको धेरै वर्षपछि मण्डपको आकारमा मन्दिरको निर्माण भयो। विसं २०२६ ताका राजा महेन्द्रको पालामा सरकारी स्तरबाट मन्दिर तथा धर्मशाला निर्माण भयो। तत्कालीन नेपालका राजगुरुले मन्दिरको शिलान्यास गरेका थिए। पुर्खाहरूका अनुसार मन्दिर निर्माण यथास्थानबाट थोरै पर सार्ने काम भएको थियो। दिनमा निर्माण हुन्थ्यो, राती भत्किन्थ्यो। अन्ततः मातासँग क्षमा याचना गरी पुनः यथास्थानमा निर्माण गरियो जुन अहिलेसम्म तटस्थ छ।
दैनिक बिहान र बेलुका माताको पूजापाठ र आरती हुन्छ। नैवेद्यमा फल र मिठाई आदि भोग लगाइन्छ। असोजको बडादशैं तथा चैते दशैंमा दश दिनसम्म विधिपूर्वक पूजापाठ हुन्छ। गाउँ तथा अन्य थुप्रै ठाउँका भक्तजन नौ दिनसम्म पूजामा सहभागी हुन्छन्। मन्दिरको नियमित तथा दशैंको अवसरमा हुने पूजाबाहेक भक्तजनको अनुरोधमा गत वर्ष झन्डै १५१ जना भक्तजनको नाममा सङ्कल्पका साथ जमरा आदि राखेर पूजा भएको थियो। यस वर्ष अहिलेसम्म झन्डै सयजना भक्तले आआफ्नो स्थान सुरक्षित गरेका छन्। यस वर्ष २५१ जना भक्तजनको पूजा गर्न सकिने ठाउँको बन्दोबस्त गरिंदैछ। पूजापाठमा लाग्ने सामग्री तथा दक्षिणा गरी रु ७०५ तोकिएको छ। भक्तजनलाई जमरा, तामाको कलश, टीका तथा प्रसाद वितरण गरिने छ।
माता विन्ध्यवासिनीको उत्पत्ति
मार्कन्डेय पुराणका अनुसार माता दुर्गाले सम्पूर्ण देवीदेउतालाई, राक्षसहरूको संहार गर्न उनी अवतार लिनेछिन्। वाचा अनुसार उनको जन्म भयो। सोही दिन देवकी र वसुदेवका आठौं पुत्रको रूपमा भगवान् कृष्णको पनि जन्म भएको थियो। जब कंसले माताको हत्या गर्न खोज्यो तब देवी दुर्गाले तुरून्त आफ्नो असली रूपमा प्रकट भइन् र कंसलाई चेतावनी दिंदै भनिन्–“तिम्रो वध गर्ने बालक गोकुलमा सुरक्षित छ।” यति भन्दै उनी अन्तध्र्यान भइन्। मान्यता अनुसार सोही बेलादेखि विन्ध्याचल पर्वतमा आदिशक्ति विन्ध्यवासिनी माता विराजमान छिन्। आजको उत्तर प्रदेशको प्रमुख तीर्थस्थल विन्ध्याचलबाट देवीको अवशेष ल्याएर तत्कालीन राजा रणबहादुर शाहले पर्साको विन्ध्यवासिनीमा स्थापित गरेका हुन्।
रणबहादुर शाह
पृथ्वीनारायण शाहका नाति तथा प्रताप शाहका छोरा रणबहादुर शाह नेपालका तेस्रो शाहवंशीय राजा थिए। विसं १८३२ मा जन्मेका उनी बुवा प्रताप शाहको स्वर्गारोहणपछि केवल अढाई वर्षको उमेरमा नेपालको राजा भए। उनकी माता राजेन्द्रलक्ष्मीले अभिभावकका रूपमा नायबी पद ग्रहण गरेर शासनको बागडोर हातमा लिइन्। राजेन्द्रलक्ष्मीको देहान्तपछि रणबहादुर शाहका काका बहादुर शाहले रणबहादुरको नायबी ग्रहण गरे। रणबहादुर शाहले विसं. १८५१ वैशाखमा नयाँ भारदारी सभा गठन गरेर शासनसत्ता आफ्नो हातमा लिएको कुरा इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।
कुल परम्पराविपरीत राजाले एकजना ब्राह्मण विधवा महिला कान्तिवति मिश्रसँग विवाह गरे। उनले कान्तिवतिबाट जन्मने छोरालाई राजा बनाउने वाचा गरेर विवाह गरेका थिए। कान्तिवतिबाट गीर्वाणयुद्धको जन्म भयो। कान्तिवतिलाई त्यति बेला बिफर रोगले समात्यो। उनले आफू जीवित छँदै आफ्नो छोरा गीर्वाणलाई राजा बनाउन जोड दिन थालिन्। सो कामको लागि रणबहादुरले पाल्पाका राजा पृथ्वीपाल सेनलाई काठमाडौं बोलाई गीर्वाणयुद्धको राज्याभिषेक गराए। जेठो छोरा रणोद्योत शाह हुँदाहँुदै विसं १८५५ माघ शुदि १५ रोज ४ मा त्यस विषयको ताम्रपत्रमा ९४ जना प्रतिष्ठित भारदारहरूको सही गराएर रणबहादुर शाहले राजपाट त्यागे। गीर्वाणयुद्ध विक्रमलाई राजा बनाई जोगी बनेर हिंडे।
रानी कान्तिवतिको स्वास्थ्य अवस्था बिग्रँदै गएकोले देवीदेवताको भाकल, दान, स्वस्ति शान्ीि गराउन थालियो। त्यो रोग निको पार्न विभिन्न भाकल गरी देवीदेउताको पूजा गर्न थाले। पाँच वर्षपछि विसं. १८६० मा पुनः भीमसेन थापासहित बनारसबाट नेपाल फर्किएर उनले शासनसत्ता हातमा लिने कोशिश गरेको इतिहासकारहरूले लेखेका छन्।