पर्यटन विकासका लागि सहकार्य आवश्यक – नगरप्रमुख सरावगी

0
21

प्रस, वीरगंज, ७ असोज/

गण्डकी प्रदेशको निमन्त्रणमा प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत गद्दी नेतृत्वको टोलीमा बुधवारदेखि पोखरा भ्रमणमा रहेका वीरगंज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले पर्यटन विकासका लागि पोखरा र वीरगंजबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

गण्डकी प्रदेशद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख सरावगीले पर्यटकीय राजधानी पोखरा र आर्थिक राजधानी वीरगंजको सहकार्यले नेपालमा नमूना आर्थिक विकास गर्न सकिने सम्भावना रहेको बताए । उनले यसका लागि पोखरा र वीरगंजबीच सम्बन्ध पनि नमूना हुनुपर्ने कुरामा जोड दिए ।

उनले भारतीय पर्यटकहरू वीरगंज हुँदै पोखरासम्म पुग्ने भएकाले गन्तव्यको प्रवेशद्वारमा नै पोखराको झल्को पाउने गरी पर्यटकीय आकर्षणहरूको जानकारी गराउने व्यवस्था गरिए भारतीय पर्यटकहरू थप आकर्षित हुने सुझाव दिए ।

वीरगंजको विकासमा पोखराको साथ र सहयोग आवश्यक रहेको बताए । उनले वीरगंजको पहिचान भएमात्रै पोखराको पनि पहिचान हुने कुरामा जोड दिए ।

नगरप्रमुख सरावगीले प्रवेशद्वारमा नै नकारात्मक सन्देश गयो भने पर्यटकहरू आकर्षित हुन नसक्ने तर्क गर्दै वीरगंज र पोखराप्रतिको नकारात्मक सन्देश फैलिन नदिन पोखरा र वीरगंजबीच सुमधुर सम्बन्ध स्थापित हुनुपर्ने बताए ।

मुख्यमन्त्री गद्दीको नेतृत्वमा नगरप्रमुख सरावगीसहित उद्योगी व्यवसायी र होटल तथा पर्यटन व्यवसायीहरू हिजो पोखरा गएका हुन् ।

प्रदेश २ र गण्डकीमा भएका पर्यटकीय गन्तव्य पहिचान र पर्यटन प्रवद्र्धनका लागि भ्रमणको आयोजना गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here