प्रस, वीरगंज, ७ असोज/

वीरगंजमा कबाडी कामका लागि समयसीमा तोकिएको छ ।

वीरगंजमा कबाडको काम गर्नेहरूसँग ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरमा छलफल गरी विभिन्न थरीका कबाड सामान सङ्कलन गर्न समयसीमा तोकिएको ग्रीनसिटीका अध्यक्ष प्रकाश खेतानले बताए ।

उनले वीरगंजमा कबाड सङ्कलनका लागि खट्ने बालबालिका, महिला, पुरूषबाट चोरीका वारदात भइरहेको पाइएपछि अपराध नियन्त्रणका लागि समयसीमा तोक्नुपरेको बताए ।

ग्रीनसिटीको यो अभियानमा वडा प्रहरी कार्यालय बिर्ता, एसटिएफ आदर्शनगरसमेतले सहकार्य गरेको छ । हिजो साँझ सम्पन्न छलफलमा कबाड सञ्चालकहरूले ठेलामा र पैदल कबाड सङ्कलन गर्नेहरूलाई निर्धारित समयमा मात्र काम गराउने र सोविपरीत काम भए कारबाई गरिने चेतावनी दिइएको थियो ।

कबाडको सामान सङ्कलनका साथै रिक्सा र ढेलाहरू पनि बिहान ५ बजेदेखि बेलुकी ११ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय भएको अध्यक्ष खेतानले बताए । उनले यो समयमा सो समय बर्खिलाप कसैले काम गरेको पाए, नजीकको प्रहरी वा प्रहरी कन्ट्रोल कक्षको १०० नं मा डायल गरी सूचित गर्न आग्रह गरे ।

पछिल्लो समयमा कबाडका काम गर्नेहरूका साथै रिक्सा, ठेलाको प्रयोग चोरीको घटनामा देखिएकोले चोरी नियन्त्रणका लागि यो प्रयास गरिएको अध्यक्ष खेतानले प्रस्ट्याए । बैठकमा वप्रका बिर्ताका प्रहरी निरीक्षक राजेशराज पुरी, प्रहरी चौकी आदर्शनगरका प्रमुख हीराबहादुर बुढाथोकीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here