प्रस, गरूडा, ७ असोज/
चार वर्षदेखि दलितहरूको आवासको लागि प्रदेशमा ठूलो परिमाणमा रकम आए पनि दलितहरूको बिचल्ली भएको नेता प्रभु साहले आरोप लगाएका छन् ।
गरीब दलितहरूको पुरानो घर उजाडिएको तर नयाँ घर नबनेको अवस्थामा दलितहरूको बिचल्ली भएको बताउँदै पूर्वमन्त्री साहले दलित आवास कार्यालयले तत्काल निर्माण काम अघि नबढाए ठूलो आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
रौतहटको देवाहीगोनाही नगरपालिकामा निर्माणाधीन मधेस सङ्ग्रहालयमा दलित आवास निर्माण सङ्घर्ष समिति, रौतहटद्वारा आयोजित गरीब–दलितलाई आवास व्यवस्थासहित छुवाछूत र विभेद हटाउन भएको जिल्ला भेला कार्यक्रममा बोल्दै नेता साहले दलित–विपन्न समुदायको घर निर्माण सम्बन्धी समस्या प्रदेश सरकारको कारणले लम्बिएको आरोप लगाए ।
उनले प्रतिघर रू ३ लाख ५० हजार पक्की घर बनाउन मन्त्रालयबाट आएको रकम स्थानीय तहले फ्रिज गराउने गरेको बताए । प्रदेश सरकारमा प्रतिवर्ष करीब १ अर्ब ५० करोड रूपियाँ यस्ता घर बनाउन आउने गरेको नेता साहले बताए । प्रदेश सरकारमा आएको रकम लक्षित समूहले नपाउनु दुःखद भएको उनले बताए । गैरदलितलाई सुरक्षित आवासको लागि प्रतिघर ५० हजार आउने गरेको उनले अवगत गराए । आफू शहरीमन्त्री भएपछि ७५ हजार रूपियाँ बढाएको बताउँदै विगत तीन वर्षदेखि सो रकम आइरहँदF पनि मेयरहरूले दिन आनाकानी गरिरहेको उनको आरोप छ ।
रौतहटमा १८ वटा स्थानीय तहमध्ये दुईवटा नगरपालिकाले मात्र घर बनाउन रकम दिएको बताउँदै अन्य स्थानीय तहको रकम कहाँ गयो थाहा हुन नपाएको बताए ।
दलितहरूको आवास तत्काल बनाउन दबाब दिन असोज १२ मा दलित आवास कार्यालय घेराउ गर्ने तथा असोज १५ गते प्रत्येक पालिका घेराउ गर्ने कार्यक्रम राखिएको उनले बताए ।
नेता साहले दलितहरूको आवास निर्माण तत्काल अगाडि नबढाए दशैंपछि दोस्रो चरणको ठूलो आन्दोलन गर्ने घोषणा पनि गरे ।
कार्यक्रममा नेता उपेन्द्र शाहले वर्तमान संविधानले दलित, गरीब, किसानलाई हक अधिकारविहीन बनाएकोले संविधान संशोधन गर्न माग गरे ।
यसैगरी कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहा, मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह, यमुनामाई गाउँपालिकाका उपप्रमुख गीतादेवी साह, माधवनारायण नगरपालिकाका उपप्रमुख सिमलकुमारी साह, फतुवा विजयपुर नगरपालिकाका उपप्रमुख कान्ती देवीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।