धर्मेन्द्र चौरसिया, पोखरिया, ७ असोज/

पोखरिया बजारमा साइकल मरम्मत गर्नेहरूले अहिले धमाधम व्यावसाय परिवर्तन गर्दैछन् ।
पोखरिया बजारमा करीब डेढ दर्जनको हाराहारीमा साइकल मरम्मत गर्नेहरू थिए । तर पछिल्लो समयमा साइकलको प्रयोग घट्दै गएको हुँदा उनीहरूले व्यवसाय परिवर्तन गर्न थालेका हुन् ।

स्थानीय रामलाल रामले एक वर्षदेखि व्यवसायबाट आम्दानी हुन छाडेको बताए । उनले त्यस अघि दैनिक चार/पाँच हजारसम्म आम्दानी हुने गरेकोमा अहिले दैनिक पाँच सयको पनि आम्दानी हुन छाडेको बताए । साइकल प्रयोगकर्ताहरू घटेर मोटरसाइकलको प्रयोग बढी हुन थालेको उनको बुझाइ छ ।

यसैगरी साइकल चढेर वीरगंजलगायत गनतव्य जानेहरू पनि अहिले ग्रामीण क्षेत्रमा विकास निर्माणले गर्दा टेम्पो, इरिक्सा, म्याजिक, बस आदि चल्न थालेपछि व्यवसाय प्रभावित भएको बताए । रामले पहिले पर्सा र बाराको उद्योगमा काम गर्ने मजदूर, विभिन्न कामले वीरगंजलगायत जानेहरू साइकलको प्रयोग गर्थे । धेरै मजदूर त अब मोटरसाइकल प्रयोग गर्न थालेका र आम मानिसको आकर्षण पनि मोटरसाइकमा बढेकोले साइकल प्रयोगकर्ताहरू घटेको बताए । उनले साइकल मरम्मत गर्ने कामसँगै अहिले राम पान पसल सञ्चालन गर्न थालेका छन् ।

उनीसँगै अरूले पनि साइकल मरम्मतसँगै किराना र मसाला पिसानी व्यवसाय शुरू गरेका छन् । पोखरियामा अहिले ६ वटा मात्र साइकल मरम्मत गर्ने पसल छ । वीरगंज–पोखरिया सडक खण्डको विभिन्न स्थानमा साइकल मरम्मत हुन्थ्यो । अहिले प्रायः पेशाबाट विस्थापित भएका छन् ।

साइकल मरम्मत पसल विस्थापित भएसँगै मोटरसाइकल मरम्मत गर्ने व्यवसाय फस्टाएको छ । र विभिन्न स्थानमा मोटरसाइकल मरम्मत गर्ने पसलहरू धमाधम खुल्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here