कार्गो रेल रित्तै फर्किंदै, यार्डमा ६ सय खाली कन्टेनर

0
23

प्रस, परवानीपुर, ७ असोज/

वीरगंजबाट ८४० किलोमिटर दूरीमा रहेको पश्चिम बङ्गालको हल्दिया बन्दरगाहबाट सातामा दुईपटक हिन्द टर्मिनलको निजी कार्गो रेल मालसामान लिएर नेपाल आइसकेको छ । गत साता बुधवार बिहान १० बजे नेपालकै इतिहासमा पहिलोपटक निजी कार्गो रेलमार्फत मालसामान ढुवानी भयो भने असोज ४ गते सोमवार राति साढे ७ बजे सोही कम्पनीको दोस्रो कार्गो रेल वीरगंज आइपुगेको थियो ।

पहिलो खेपमा ९० वटा २० फुटे कन्टेनर लिएर वीरगंज आइपुगेको रेल सोमवार राति आउँदा ८० वटा २० फुटे र पाँचवटा ४० फुटे कन्टेनर लिएर वीरगंज भित्रिएको नेपाल इन्टरमोडेल यातायात विकास समिति सुक्खा बन्दरगाह वीरगंजका शाखा अधिकृत तर्कराज जोशीले जानकारी गराए ।

भटमास तथा तेलहन सामानका कच्चा पदार्थ र अन्य ट्रेडिङ सामान लिएर उक्त रेल दोस्रो खेप लिएर नेपाल आएको हो । कन्टेनर अनलोड गरी मङ्गलवार बिहान पौने ८ बजे उक्त रेल पुनः हल्दिया फर्केको थियो । डेढ महीनाअघि नेपाल र भारतबीच भएको रेलवे सर्भिस एग्रिमेन्ट संशोधन गरी निजी कम्पनीलाई कार्गो लिएर नेपाल ल्याउने अनुमति प्रदान भएपछि उक्त रेलले मालसामान ल्याइरहेको छ ।

निजी कम्पनीले रेलमार्गमार्फत मालसामान ल्याउने सेवा पाएपछि अहिले १७ वर्षदेखि नेपालको लागि रेलमार्गबाट आयात–निर्यात गर्ने भारतीय रेलवेको भगिनी संस्था कोन्करको एकलौटी एकाधिकार टुटेको छ ।

रित्तै फर्किंदै निजी कार्गो रेल

कार्गो ओसारपोसार गर्ने भारतीय निजी कार्गो रेलले भर्खरै सेवा शुरू गरेको कारण अहिले रित्तै फर्किन बाध्य बनेको छ । हिन्द टर्मिनलले हल्दियाबाट मालसामान ल्याउँदा प्रतिखेप ९० वटा २० फुटे कन्टेनर ल्याइरहेको छ । तर वीरगंजबाट फिर्ता जाने खाली कन्टेनर नभएर अहिले रित्तै फर्किंदा समस्या भइरहेको भन्सार अधिकारीहरूले बताएका छन् ।

श्रीसिया सुक्खा बन्दरगाहका सूचना अधिकारी चूडामणि कट्टेलका अनुसार रित्तै फर्किनु भनेको पछि यार्डमा खाली कन्टेनर थुप्रिंदै जानु हो । “जतिपटक रेल खाली फर्किन्छ, त्यत्तिकै पटक ९० वटाको दरले कन्टेनर खाली भएर आएर यार्डमैं थन्किने हो,” उनले भने, “पहिलो कोरोनाकालमा कन्टनेर सही समयमा खाली नहुँदा अहिले कोन्करकै ६ सयवटा कन्टनेर यार्डमैं थन्केको छ ।”

उनले हिन्द टर्मिनलले कोन्करसँग संवाद गरी कोन्करको खाली कन्टेनर यसैबेला लगिदिए यार्डको जाम कम हुने बताए । तर यस विषयमा सरोकारवालाहरूसँग छलफल हँुदा पनि समस्याको निकास ननिस्केको उनले बताए । कोन्करले हिन्द टर्मिनलमार्फत आफ्ना कन्टेनर फिर्ता लाने विषयमा चासो नदिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here