काठमाडौं, ८ असोज/रासस
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक २.७० अङ्कले बढेर दुई हजार ८१९.६५ पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९३ अङ्कले बढेर ५३०.०२ मा उक्लिएको छ । कुल २२८ कम्पनीको एक करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर रू सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ मूल्यमा खरीद–बिक्री भयो । बिहीवारको कारोबारपछि बजार पूँजीकरण रू ३९ खर्ब ४७ अर्ब १५ करोड सात लाख ९० हजारको हाराहारीमा पुगेको छ ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्यो भने ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ ४७.३७ र वित्त ८.२ अङ्कले उकालो लागेको छ । केही वाणिज्य बैंकले आव २०७७–७८ को मुनाफाबाट लाभांश घोषणा गरेका कारण बैंकिङ उपसमूहको शेयर मूल्यमा सुधार देखिएको हो ।
व्यापार ४५.०७, होटल तथा पर्यटन ९७.२७, विकास बैंक ८०.४४, जलविद्युत् ७१.८, निर्जीवन बीमा ९२.०४, उत्पादन ८०.४, अन्य २१.६१, लघुवित्त ४६.७९, जीवन बीमा ५१.०८, सामूहिक लगानी कोष ०.०६ र लगानी २.१६ बिन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा आज सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रू ३४ करोड १५ लाख ८३ हजार बराबरको कारोबार भयो ।
नेपाल बैंक रू २७ करोड १० लाख ७७ हजार १४३, माछापुच्छ्रे बैंक रू २३ करोड ८६ लाख ८८ हजार ६०३, नेशनल हाइड्रोपावर रू २१ करोड ९६ लाख ५० हजार ५०५ र युनाइटेड मोदी हाइड्रोपावरको रू २१ करोड ७७ लाख २३ हजार २७७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।