प्रस, वीरगंज, ६ असोज/

विश्वकर्मा पूजाको भोलिपल्ट गत शनिवार दिउँसो वीरगंज–१२ मुर्ली पोखरीमा डुबेर मृत्यु भएका दुईजना बालकका परिवारजनले क्षतिपूर्तिको माग गरेका छन् ।

उक्त पोखरीको सौन्दर्यीकरणको काम गरिरहेको ठेकेदार पक्षसँग परिवारजनले आवश्यक क्षतिपूर्तिको माग गरेका हुन् । वीरगंज–१२ मुर्ली घर भई पोखरीमा डुबेर मृत्यु भएका १७ वर्षीय मुना गुप्ताका बुबा दिनेश गुप्ता र वर्ष १२ का प्रीतम गुप्ताका बुबा उमेश गुप्ताले यस्तो माग गरेका हुन् । मुना र प्रीतम एउटै घरका दुई दाजुभाइका सन्तान हुन् ।

शनिवार दिउँसो २ बजेपछि उनीहरू बेपत्ता भएका थिए । परिवारजन र प्रहरीले खोजी कार्य गर्दा एकजनाको राति साढे ९ बजे र अर्कोको साढे १० बजे पोखरीबाट शव बरामद भएको थियो । पोखरीको डिलमा ती बालकहरूको कपडा भेटिएपछि सुरक्षाकर्मी लगाएर बालकहरूको शव खोजी गरिएको थियो ।

पोखरीको सौन्दर्यीकरण गर्ने ठेक्का पाएको प्रेरणा–रञ्जन जेभी ललितपुरले लापरवाही गरेकोले ठेकेदार पक्षसँग क्षतिपूर्ति माग गरिएको हो । वीरगंज–१२ मुर्लीका अध्यक्ष रामदरश कुशवाहाका अनुसार ठेकेदारले पोखरीको डिलमा पर्खाल खडा गर्न पोखरी २० फिट गहिरो खनेर खाल्डो बनाएका थिए ।

बालकहरू नुहाउने क्रममा पोखरीमा कम पानी छ भनेर पसेको र डुबेको स्थानीयहरूको आरोप छ । प्रीतमका बुबा उमेशका अनुसार ती दुवैजना सँगै नुहाउन जाने छिमेकका अन्य दुईजना बालकसँग पनि प्रहरीले आवश्यक छानबिन गरी रहस्यमय किसिमले डुबेर मृत्यु भएका बालकहरूको यथार्थ घटना बाहिर ल्याउन प्रहरीसँग माग गरिएको छ । दुवै दाजुभाइका एक/एक छोराको मृत्यु भएपछि उक्त परिवार अहिले शोकमा छ ।

पोखरी सौन्दर्यीकरणमा दुई वर्षको काममा ठेकेदारले लगायो चार वर्ष

प्रदेश २ को मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत करीब रु ८ करोड लागतमा दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको ठेकेदारले चरम लापारवाही गरेको स्थानीयको गुनासो छ ।

स्थानीय कामेश्वर प्रसादका अनुसार ठेकेदारले पुरानो डिपिआर परिवर्तन गरी नियमविपरीत काम गरिरहेको जनाए । उनका अनुसार पछिल्लो समय ठेकेदार कम्पनीले विभिन्न प्रकारका सवारीसाधन थुपारेर सुस्त गतिमा काम गर्दा काममा ढिलाइ भइरहेको छ ।

त्यसैगरी, पोखरीमा काम गर्दा वरवर सुरक्षा मापदण्ड वा चौकीदार नराख्दा यस्तो घटना दोहोरिएको बताए । पोहोर पनि वीरगंज–१३ का एकजना १० वर्षीय मुस्लिम बालकको सोही पोखरीमा डुबेर मृत्यु भएको थियो ।

प्रदेश २ का प्रदेशसभा सदस्य सिंहासन साह कलवारको ठेकेदार कम्पनीले पोखरी सौन्दर्यीकरणको काम गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here