ब्राजिलिया, ६ असोज/एएफपी

ब्रजीलका स्वास्थ्यमन्त्री मार्कोलो क्वैरोगा कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएपछि उनलाई सङ्क्रमण पुष्टि भएको अधिकारीले मङ्गलवार जानकारी दिएका छन् ।

राष्ट्रपति जैर बोल्सोनारोको नेतृत्वमा ब्रजीलको टोली अमेरिकाको न्यूयोर्कमा भएको राष्ट्रसङ्घको महासभामा सहभागी भएको हो । टोलीमा सहभागी अन्य सदस्यको पनि कोरोना परीक्षण गरिएको तर सङ्क्रमण नदेखिएको अधिकारीले जनाएका छन् ।

ब्रजील सरकारले जारी गरेको वक्तव्यका अनुसार अहिले सङ्क्रमित भएका स्वास्थ्यमन्त्री क्वैरोगाले कोरोना भाइरसविरुद्धको खोप पनि लगाएका थिए । राष्ट्रसङ्घको महासभामा सहभागी भएर फर्किएकामध्ये सङ्क्रमित हुनेमा उनी दोस्रो व्यक्ति भएका छन् ।

सङ्क्रमित ५५ वर्षीय स्वास्थ्यमन्त्री क्वैरोगा न्यूयोर्कमैं आइसोलेशनमा बसेको समाचारमा जनाइएको छ । तर टोलीमा सहभागी भएर पनि सङ्क्रमण पुष्टि नभएका अन्य भने ब्रजील फर्किसकेका छन् ।

राष्ट्रपति बोल्सोनारो यात्राका क्रममा मास्कविना देखिएका र उनले अहिलेसम्म खोप पनि नलगाएको अधिकारीले जनाएका छन् ।

स्वास्थ्यमन्त्री क्वैरोगासँगै रहेका बोल्सोनारोले महासभाका क्रममा अन्य देशका शीर्ष नेतासँग पनि भेटवार्ता गरेका थिए । तर अहिलेसम्म पनि उनीहरूलाई सङ्क्रमण भएको जानकारी नआएको वक्तव्यमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here