काबुल, ६ असोज/एएनआई

अफगानिस्तानमा कामचलाउ मन्त्रिपरिषद् पनि महिलाविहीन भएको छ । अघिल्लो महीना सत्ता कब्जा गरेर केही हप्ताअगाडि कामचलाउ सरकार बनाएको तालिबानले मङ्गलवार मन्त्रिपरिषद् विस्तार गर्दा पनि महिलालाई सहभागी गराइएको छैन ।

इस्लामिक इमिरेट्समा महिलालाई मन्त्री बनाउन नमिल्ने मान्यताअनुरूप महिलालाई मन्त्रिपरिषद्मा सहभागी नबनाएको बताइएको छ ।

सूचना तथा सञ्चार राज्यमन्त्री जाबिहुल्लाह मुजाहिद्दीनले भने पछाडि पारिएको वर्ग तथा समुदायको सहभागितालाई ध्यान दिएर मन्त्रिपरिषद् विस्तार गरिएको दाबी गरे ।

विस्तारित मन्त्रिपरिषद्मा हाजी नुरुद्दीन अजिजी कार्यवाहक अर्थमन्त्री, हजि मोहम्मद बशिर अर्थ उपमन्त्री, क्वालान्डर एबाड कार्यवाहक जनस्वास्थ्य मन्त्री, अब्दुल्बारी ओमर जनस्वास्थ्य उपमन्त्रीलगायत रहेका छन् ।

सार्वजनिक भएका मन्त्रीको सूचीमा एकजना पनि महिलाको नाम छैन । मन्त्रिपरिषद्मा अहिले ३३ जना रहेका छन् । मन्त्रिपरिषद्मा महिला सहभागिताको बारेमा सोधिएको प्रश्नमा मन्त्री मुजाहिद्दीनले महिलाको विषयमा अहिलेको मन्त्रिपरिषद्ले नै उच्च प्राथमिकताका साथ काम गर्ने दाबी गरे ।

महिलाका सबै माग र बालिकाको शिक्षाका बारेमा अहिलेको कामचलाउ सरकारले नै काम गर्ने उनको भनाइ थियो । “हामीले नै महिलाका माग र उनीहरूको शिक्षाका बारेमा पर्याप्त काम गर्नेछौं,” पत्रकारसँग उनले भने ।

अफगानिस्तानमा तालिबानले सत्ता लिएपछि महिला अधिकार कुण्ठित गरेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला विस्तारित मन्त्रिपरिषद् पनि महिलाविहीन भएको हो ।

महिला र शिक्षा अधिकारलगायत आधारभूत अधिकार तथा स्वतन्त्रता कुण्ठित भएमा अफगानिस्तानको तालिबान सरकारलाई मान्यता नदिने र सहयोग नगर्ने अन्तर्राष्ट्रिय समुदाय र विभिन्न देशले चेतावनी दिंदै आएका छन् ।

मन्त्री मुजाहिद्दीनले भने आफ्नो सरकारलाई अन्तर्राष्ट्रिय समुदायले पनि स्वीकार गर्दै सहयोग र सहकार्य आदानप्रदान हुने विश्वास व्यक्त गरे । उनले देशभित्रको आन्तरिक आवश्यकता पूरा गर्न आन्तरिक अर्थतन्त्रले थेग्न सक्ने दाबी पनि गरे । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here