प्रस, वीरगंज, ५ असोज/
प्रतिलिपि अधिकार ऐनविरुद्ध कसूर गरेको आरोपमा एकजना मसला व्यवसायीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
वीरगंज महानगर–८ का रोहित साह कानूले आफ्नो अन्नपूर्ण मसला उद्योगको उत्पादनमा चटकार बिएमपी स्पाइसेज उद्योगको टे«डमार्क र लेबल टाँसेर बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले सो उद्योगबाट ६२४ पोका मसला, कच्चा पदार्थ १० बोरा र मसला पिस्ने मेशिन एक थान नियन्त्रणमा लिएको छ ।
कानूले वीरगंज महानगर–२८ सबैठवास्थित चटकार बिएमपी स्पाइसेज उद्योगको टे«डमार्क र लेबल आफ्नो उत्पादनमा टाँसेर बजारमा बिक्री वितरण गरेको प्रहरीको भनाइ छ ।
कानूलाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थमाइ प्रतिलिपि अधिकार ऐन २०५९ अन्तर्गतको कसूरमा अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ ।