शाखा अधिकृत नहुँदा नागरिकता बनाउन समस्या

0
38

ओमप्रकाश चौधरी, सेढवा, ४ असोज/

इलाका प्रशासन कार्यालय, सुपौलीमा शाखा अधिकृत नहुँदा नागरिकता लिन समस्या भएको छ।

सो कार्यालयबाट अन्य सेवाहरू प्रवाह भएपनि नागरिकताको लागि भने दैनिक सेवाग्राहीहरू आउने र रित्तो हात फर्कने गरेका छन् । दरबन्दीमा रहेका शाखा अधिकृत अहिलेसम्म हाजिर भएका छैनन् ।

जीराभवानी गापा–२ सेढवा निवासी लक्ष्मी दासले नागरिकताको लागि आवश्यक कागजात जम्मा गरी कूपन लिएको तीन साता भइसक्दा पनि नागरिकता बन्न नसकेको बताए । कार्यालयको काम दैनिक सुचारु तरीकाबाट सम्पन्न होस् र भीडभाड नहोस् भनेर इप्रका सुपौलीले कूपन दिएर सेवा दिंदै आएको छ तर नागरिकताका लागि कूपन लिएकाहरू भने लामो समयसम्म नागरिकता नपाएर बसेका छन् ।

पटेर्वासुगौली गापा–५ निचुटा निवासी लालबहादुर चौधरी काठमाडौंबाट नागरिकता बनाउन आएको र शाखा अधिकृत नहुँदा नागरिकता नबनाइ फर्कनुपरेको बताए । जिल्ला प्रशासन कार्यालय, पर्साले केही वर्षअगाडि ग्रामीण क्षेत्रका सेवाग्राहीहरूमध्ये ठोरी, जगरनाथपुर, जीराभवानी, पटेर्वासुगौलीका सेवाग्राहीहरूलाई सोही ठाउँबाट सेवा प्रवाह हुने गरी बन्दोबस्त गरेको थियो तर बेलाबेलामा शाखा अधिकृतको अभावमा सेवाग्राहीहरू भने सेवाबाट वञ्चित हुँदै आएका छन् ।

प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले यसबारे बुझ्दा जिल्ला प्रशासन कार्यालय, पर्साले साताको एक दिन शाखा अधिकृत पठाएर सेवा प्रवाह गरिरहेको बताए । उनले गृह मन्त्रालयले शाखा अधिकृत नपठाउँदा सेवा प्रवाहमा समस्या भएको कुरालाई दृष्टिगत गरेर जिप्रका पर्साले तत्काल साताको एक दिन सेवा प्रवाह गर्दै आएको बताए ।

उनले नागरिकता बनाउनेको चाप बढेको र सेवाग्राहीहरूलाई मर्का भएको कुरालाई दृष्टिगत गरी अबदेखि सातामा दुई दिन सोमवार र बुधवार नागरिकता बनाउने व्यवस्था गर्ने आश्वासन दिएका छन् । इप्रका सुपौलीबाट नागरिकताका साथै समावेशी प्रमाणीकरण प्रमाणित आदि सुविधाहरू प्रदान गरिंदै आएको छ ।

अहिले यो कार्यालयमा नागरिकता बनाउन निर्वाचनलाई लक्षित गरेर सेवाग्राहीहरूको भीड बढेको हो । मतदाता परिचयपत्र बनाउनका लागि नागरिकता जरुरी भएकोले यस भेगका सेवाग्राहीहरूको नागरिकता बनाउन भीड लाग्दै आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here