सर्पदंश उपचार केन्द्रमा दुई महीनामा ७६ जनाको उपचार

0
23

प्रस, सेढवा, ४ असोज/

ठोरी गाउँपालिकामा रहेको सर्पदंश उपचार केन्द्रमा दुई महीनामा ७६ जनाको उपचार भएको छ।
ठोरी गापा र आसपासमा सर्पदंशका घटना बढेको यो तथ्याङ्कबाट पुष्टि हुन्छ । साउन र भदौमा ७६ जनाको उपचार गरिएको र सबैलाई सकुशल घर फर्काइएको केन्द्रले जानकारी गराएको छ । केन्द्रले सर्पदंशका घटना हालका दिनमा सबैभन्दा बढी जीराभवानी गापामा हुने गरेको बताएको छ ।

यसैगरी, जगरनाथपुर, ठोरी, पटेर्वासुगौलीबाट पनि सर्पदंशका बिरामीहरू उपचारका लागि केन्द्रमा आउने गरेका छन् ।

ठोरी गापा–४ मा नेपाली सेनाको सिद्धबक्स गणले निर्मलबस्ती, पानीटङ्कीमा २०७६ फागुनमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । उपचार केन्द्रका प्राविधिक नागेन्द्र मुडभरीले हालसम्म २०४ जनाको उपचार गरिएको बताए ।

डेढ वर्षको अवधिमा २०४ जनाको उपचार गरिनुले पनि यो क्षेत्रमा सर्पदंशका घटना बढी हुने गरेको उनले बताए । स्थानीयको आग्रहमा सेनाले सर्पदंश केन्द्र बनाएको हो । सर्पदंशका बिरामीहरूले यस अघि वीरगंजमा उपचार गराउनुपथ्र्यो । लामो दूरी तय गरेर आउनुपर्दा बाटोमा धेरै बिरामीको मृत्यु हुने घटना बढेपछि उपचार केन्द्र बनाइएको हो ।

अहिले बारा र चितवनबाट पनि सर्पदंशका बिरामीहरू उपचारका लागि आउने गरेको प्राविधिक मुडभरीले बताए । उनले विषालु सर्प, अरिङ्गाल र बिच्छीले टोकेका बिरामीहरूको पनि केन्द्रमा उपचार भइरहेको जानकारी गराए ।

सर्पदंश उपचार केन्द्रका संस्थापक अध्यक्ष मानबहादुर श्रेष्ठले नेपाली सेनाले स्थापना गरेको सर्पदंश उपचार केन्द्रमा ठोरी गापा, सयपत्री बचत तथा ऋण सहकारी संस्था, विजयबस्तीलगायत संस्थाहरूले सहयोग गरेको बताए । उनले सर्पदंशका बिरामीहरूलाई आवश्यक पर्ने एन्टिस्नेक भेनम स्वास्थ्य व्यवस्थापन कार्यालय हेटौंडाले निश्शुल्क उपलब्ध गराउँदै आएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here