प्रस, महोत्तरी, ४ असोज/

प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले प्रदेशमा सुशासन कायम गर्न कर्मचारी सत्ता इमानदार हुनुपर्ने विचार व्यक्त गरेका छन् ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रादेशिक सुशासन केन्द्रले बर्दिबासमा सोमवार आयोजना गरेको ‘स्थानीय तहको संस्थागत स्वमूल्याङ्कनसम्बन्धी समीक्षा एवं अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री गद्दीले सो विचार व्यक्त गरेका हुन् ।

कुनै पनि सत्तामा भ्रष्टाचार एवं अनियमिततामा कर्मचारीको ठूलो हात हुने भन्दै उनले कर्मचारीतन्त्रको सहयोगविना अनियमितता हुनै नसक्ने बताए । मुख्यमन्त्री गद्दीले जनप्रतिनिधिलाई नियम कानून बुझाउने जिम्मासमेत स्थायी सत्ता अर्थात् कर्मचारीहरूकै रहेको उल्लेख गर्दै जनप्रतिनिधि अद्यावधिक सत्ता सञ्चालक गर्नेभन्दा स्थायी सत्ता सञ्चालन गर्ने कर्मचारी बढी जिम्मेवार हुनुपर्ने बताए ।

सुशासन कायम गर्न सबैभन्दा पहिले आफू सही हुनुपर्ने र आफ्नो मूल्याङ्कन आफैंले गर्ने संस्कारको विकास गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री गद्दीले सुशासनको पहिलो खुड्किलो स्वमूल्याङ्कन रहेको बताए । प्रदेशका अधिकांश स्थानीय तहले स्वमूल्याङ्कन नतीजा प्रकाशन गर्न नसकेको उल्लेख गर्दै उनले आफ्नो मूल्याङ्कनसमेत आफैंले गर्न नसकिरहेको अवस्थामा सुशासन कायम गर्न गाह्रो हुने बताए ।

प्रदेशस्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको कार्यक्रममा मुख्यमन्त्री गद्दीले प्रदेश २ मा भ्रष्टाचार अन्त्यको लागि जनलोकपाल आयोग गठन भइसकेको जानकारी गराउँदै अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुने चेतावनी दिए ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका प्रादेशिक निर्देशक एवं मुख्यमन्त्री कार्यालयका सचिव यमप्रसाद भुसालको अध्यक्षतामा भएको समारोहमा प्रदेशका प्रमुख सचिव हरिप्रसाद मैनाली, मुख्यमन्त्री कार्यालयका सचिव विष्णु ढकाल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here