प्रस, परवानीपुर, ४ असोज/
वीरगंजका दुर्ई व्यापारिक घरानाले दुई पाङ्ग्रे विद्युतीय सवारीसाधन आयात र बिक्री व्यवसायमा प्रवेश गरेका छन् । क्याल समूह र वीरगंज हेल्थकेयर (बिएचसी) समूहले भारतमा निर्मित जापानी कम्पनी ओकिनावाका विद्युतीय मोटरसाइकल र स्कूटीको बिक्री व्यवसाय शुरू गरेका छन् ।
क्याल समूहका सुरेश क्याल र वीरगंज हेल्थकेयरका सञ्चालक डा अबुलैस अन्सारीको साझेदारीमा बनेको बिएचसी इन्टरनेशनल प्रालि नेपालको लागि आधिकारिक बिक्रेता भई विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनको व्यवसायलाई अगाडि बढाएको हो । शुरूमा दुवै समूहले करीब २५ करोड रुपियाँको लगानीमा तीन महीनादेखि यो व्यवसाय शुरू गरेको बिएचसी इन्टरनेशनल प्रालिका सञ्चालक डा अन्सारीले बताए ।
“२०८८ सम्म नेपाल सरकारले डिजेल तथा पेट्रोल इन्जिन विस्थापन गर्ने नीति लिएको छ”–उनले भने–“सोही कारणले यो क्षेत्रमा लगानी गरेका हौं, तीन महीनाको अवधिमा हामीले छ सयवटा विद्युतीय स्कूटी बेचिसकेका छौं, कारोबार उत्साहजनक छ ।”
उनका अनुसार वीरगंजको गण्डक बहुअरी, काठमाडौंको जडीबुटी, बल्खु, रौतहटको गौर र चन्द्रनिगाहपुर, जीतपुरसिमरा उपमहानगरको लालका पुल नजीकै र पोखरामा गरी कुल सातवटा शोरूम सञ्चालनमा ल्याइसकेको र एक साताभित्र इटहरी, चितवन, हेटौंडा र बुटवलमा पनि शोरूम सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ । उनले दशैंसम्म देशका करीब २४ स्थानमा शोरूम सञ्चालन गर्ने लक्ष्य रहेको बताए । अहिले स्कूटी मात्रै बिक्री भइरहेको र तीन महीनापछि मोटरसाइकल पनि बिक्री शुरू गर्ने योजना रहेको बताए ।
स्कूटी रु १ लाख ७० हजारदेखि ३ लाख ४० हजारसम्ममा बिक्री भइरहेका छन् भने मोटरसाइकलको मूल्य रु ३ लाखदेखि साढे ४ लाखसम्म पर्छ । दुई घण्टा चार्ज गरेपछि स्कूटी १७० किलोमिटर र मोटरसाइकल २५० किलोमिटर गुड्नेछ भने तीन वर्षको वारेन्टी दिइएको छ। गाडीको मोटर, कन्ट्रोलर, चार्जर, ब्याट्री बिग्रेमा शोरूममा निश्शुल्क फेर्ने सुविधा छ । एकपटक चार्ज गर्दा २–३ युनिट बिजुली खर्च हुने भएकोले पेट्रोलबाट चल्ने स्कूटी र मोटरसाइकलभन्दा निकै किफायती रहेको कम्पनीको दाबी छ ।
विद्युतीय स्कूटी र मोटरसाइकल चलाउँदा प्रतिकिलोमिटर २० पैसा खर्च लाग्छ भने पेट्रोलबाट चल्ने स्कूटी र मोटरसाइकलमा रु ६ खर्च परिरहेकोले विद्युतीय गाडीलाई अति कम खर्चिलोमा र वातावरणीय हिसाबले पनि प्रदूषणरहित मानिएको छ । सञ्चालक अन्सारीका अनुसार अहिले देशभरबाट अर्डर आइरहेको छ र खासगरी दुर्गम पहाडी जिल्लामा पेट्रोल पम्प नभएकाले त्यस्ता जिल्लामा विद्युतीय गाडीको बिक्री बढी भइरहेको छ ।
बहुप्रतीक्षित हाइड्रो पावरका कर्मचारी, ठूला औद्योगिक प्रतिष्ठानका कर्मचारीले विद्युतीय स्कूटी र मोटरसाइकलको माग बढी गरेका छन् । विद्युतीय स्कूटी र मोटरसाइकल बिजुली रहेको जुन पनि ठाउँमा पाँच एम्पियर भोल्टेजमा चार्ज गर्न सकिन्छ ।