प्रस, वीरगंज, ४ असोज/

जिल्ला अदालत पर्साले एउटै मुद्दामा दुई थरीको फैसला गरेको पाइएको छ । अदालतले लागूऔषधसम्बन्धी मुद्दामा फरक किसिमले फैसला गरेको पाइएको छ । घटना २०६८ माघ १० गतेको हो ।

तत्कालीन महादेवपट्टि गाविस–५ चमरीटोल निवासी प्रयाग यादवको घरबाट इलाका प्रहरी कार्यालय सेढवाले छापामारी गरी ३० किलो गाँजासहित चारजनालाई पक्राउ गरेको थियो । रङ्गेहात पक्राउ पर्नेमा भारतीय नागरिक राजेश गद्दी, सुदर्शन कुशवाहा, बृजेश सहनी र बृजलाल सहनी थिए । घरधनी प्रयाग यादव फरार भएका थिए ।

पर्सा जिल्ला अदालतका तत्कालिन न्यायाधीश श्यामसुन्दर अधिकारीले २०६८ वैशाख १२ गते भारतीय नागरिकको हकमा भरिया भएको भन्दै दुई वर्ष जेलसजाय तोकेका थिए । प्रयाग यादवको हकमा भने अदालतले अंश रोक्का राखी मुद्दा मुतलबीमा राख्ने फैसला गरेको थियो । अदालतले यादव आफैं वा प्रहरीद्वारा पक्राउ परेको बखत मुद्दाको किनारा गर्ने निर्णय गरेको थियो।

पक्राउ परेका चारैजना भारतीय नागरिकले आआफ्नो सजाय भुक्तान गरिसकेका छन् ।
१० वर्षसम्म फरार सूचीमा रहेका प्रयागलाई गत चैत महीनामा प्रहरीले पक्राउ गरी जिल्ला अदालत पर्सामा बुझाएको थियो । तर उनी साधारण तारिखमा छुटेपछि सजाय काटेका भरियाहरूमध्येका एकजनाले एकैथरीको मुद्दामा दुई किसिमबाट फैसला भएको बताएका छन् । एकै किसिमको मुद्दामा फरक निर्णय हुनु गलत भएको उनको टिप्पणी छ ।

१० वर्षसम्म फरार रहेका प्रयागले अदालतमा इन्कारी बयान दिएको, प्रतिवादी पक्राउ परी जेलसजाय भोगिसकेका चारजना भारतीय नागरिकलाई नचिनेको प्रहरी प्रतिवेदन, परीक्षण प्रतिवेदन, घटना विवरण कागजातसमेतको मिसिल प्रमाणबाट हालको अवस्थामा पूर्ण निर्दोष रहेछन् भन्ने स्थिति विद्यमान नहुँदासम्म थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने हँुदा रु १ लाख धरौटीमा साधारण तारिखमा २०७७ चैत ९ गते जिल्ला अदालत पर्साका तत्कालीन न्यायाधीश राजेश कटुवालको इजलासले फैसला गरेको थियो ।

सो फैसला अहिले सार्वजनिक भएपछि चारजना भारतीयमध्येका एकजनाले यसबारेमा आपत्ति जनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here