काबुल, ४ असोज/एएनआई
अफगानिस्तानका शिक्षिकाहरू आफ्नो भविष्यबारे चिन्तित भएका छन् । शैक्षिक विषयमा अफगानिस्तानको तालिबान सरकारले तय गरेका नीतिका कारण उनीहरू चिन्तित भएका हुन् ।
शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरूलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि चिन्ता बढेको शिक्षिकाहरूले बताएका छन् ।
मन्त्रालयले आइतवारदेखि लागू हुनेगरी कक्षा ७ देखि १२ सम्मका छात्र र पुरुष शिक्षकहरूलाई मात्रै विद्यालय जान सूचना जारी गरेको छ । सूचनामा हजारौं छात्राको पढाइ तथा भविष्यबारे केही उल्लेख नगरिएको पनि स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
साथै सूचनामा उनीहरूलाई कुनै निर्देशनसमेत नभएको भन्दै शिक्षिकाहरू चिन्तित भएको समाचारमा जनाइएको छ । शिक्षिकाहरूले परिवारमा निर्भर हुनुपर्दा पीडा महसूस भइरहेको बताएका छन् । राजधानी काबुलस्थित एक विद्यालयमा पस्तो भाषा विषय अध्यापन गराउने एक शिक्षिकाले विद्यालयले आफूलाई शिक्षणका लागि नबोलाएको बताइन् ।
विद्यालय फर्किनेबारे कुनै सूचना छैन, कुनै जानकारी नहुँदा अन्योल सृजना भएको छ, उनले भनिन् । उनले विद्यालयमा गएर अध्यापन गराउन नपाउँदा आर्थिक सङ्कटसँगै मनोवैज्ञानिक समस्या उत्पन्न भएको बताइन् ।
उनीजस्तै अरू धेरै शिक्षिकाहरूको समस्या र गुनासो उस्तै रहेको समाचारमा जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफ र युनेस्कोले पछिल्लो दुई दशकमा अफगानिस्तानको शिक्षा क्षेत्रमा धेरै उपलब्धि भएको जनाएका छन् ।
सन् २००१ देखि यता महिला साक्षरता दरमा पनि ठूलो वृद्धि भएको युनेस्कोको प्रतिवेदनमा उल्लेख गरिएको छ । शुरूमा महिला साक्षरता दर १७ प्रतिशत रहेकोमा अहिले ३० प्रतिशत पुगेको युनेस्कोले जनाएको छ ।
त्यसैगरी विद्यालय जाने छात्राहरूको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको युनेस्कोका अधिकारीहरूले बताएका छन् । सन् २००१ मा उच्च शिक्षामा सहभागी छात्राहरूको सङ्ख्या पाँच हजार रहेकोमा सन् २०१८ मा ९० हजार पुगेको थियो । रासस