लस लानोस डे अरिदान, स्पेन, ४ असोज/एएफपी

स्पेनको क्यानरी टापुमा आएको ज्वालामुखीले करीब २० घर ध्वस्त पारेको स्थानीय अधिकारीहरूले सोमवार पुष्टि गरेका छन् । स्थानीय समय अनुसार आइतवार आएको ज्वालामुखीका कारण निस्किएको लाभा र खरानी वायुमण्डलमा फैलिंदा कम्तीमा पाँच हजार व्यक्तिलाई उनीहरूको बस्तीबाट सुरक्षितस्थलतर्फ सारिएको छ ।

“धेरै घर ध्वस्त भएका छन्,” एक क्षेत्रीय सरकारी प्रवक्ताले एएफपीसँग भने । ज्वालामुखीका कारण भएको क्षतिबारे लेखाजोखा भइरहेको बताइएको छ । नजीकैको एल पासो गाउँका स्थानीय मेयर सर्जियो रोड्रिगेजले टापुमा आएको कम्ब्रे भिजा ज्वालामुखीले कम्तीमा पनि २० वटा घर पूरै ध्वस्त भएको बताए भने उक्त स्थानमा ५० वर्षपछि पहिलोपटक ज्वालामुखी विस्फोट भएको हो ।

“लाभा उडेको मार्गमा करीब दुर्ई किलोमिटरसम्म यसको प्रभाव परेको देखिएको छ,” रोड्रिगेजले टिभी च्यानललाई जानकारी दिंदै भने, “स्थानीय बासिन्दाहरू अझै थप क्षति हुन सक्ने भयबीच बस्तीहरूबाट भागिरहेका छन् भने प्रशासनले उनीहरूलाई केही दिन घर नफर्किन आग्रह गरेको छ ।”

स्पेनी सञ्चारमाध्यमले उक्त विस्फोटले १०० भन्दा बढी घरलाई असर गरेको हुन सक्ने बताएका छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले उक्त विस्फोटपछि संयुक्त राष्ट्रसङ्घको महासभाका लागि न्यूयोर्क जाने निर्धारित यात्रालाई पछि सारेका छन् । उनी आइतवार साँझ अबेर घटनास्थलमा पुगी घटनाबारे जानकारी लिए ।

सबै सेवा समन्वयित ढङ्गमा सञ्चालन भएका छन्, सान्चेजले ट्वीटरमा उल्लेख गरे । लगभग ८०,००० मानिस बसोबास गर्ने कम्ब्रे भिजा ला पाल्मा टापुको दक्षिणी भागको एउटा सामुद्रिक तट हो ।

स्थानीय सरकारको अनुमान अनुसार यस द्वीपको मध्य भागमा रहेको ज्वालामुखीबाट लाभा बग्ने सम्भावना समुद्र तट पुग्नुभन्दा पहिले दक्षिण–पश्चिममा बसोबास गर्ने र जङ्गल भएको क्षेत्रतिर जाने सम्भावना थियो ।

क्यानरी आइसल्यान्ड्स इन्स्टिच्युट अफ ज्वालामुखीका अनुसार लाभाको बहाव प्रतिघण्टा लगभग ७०० मिटरमा सरिरहेको र यसको तापक्रम झन्डै एक हजार सेन्टिग्रेड रहेको थियो । भूकम्पीय गतिविधि र म्याग्मा विस्थापनमा हालै भएका वृद्धिपछि विशेषज्ञहरूले ज्वालामुखीलाई नजीकबाट नियालिरहेका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here