प्रस, जनकपुरधाम, ४ असोज/

जनकपुरधाम भ्रमणमा रहेकी पूर्वयुवराज्ञी हिमानी शाहले सोमवार जनकपुरधामस्थित सकल भवन कन्या माविका छात्राहरूलाई सफा खानेपानीको बोतल वितरण गरेकी छन् ।

हिमानी ट्रस्टको आयोजनामा भएको कार्यक्रममा पूर्वयुवराज्ञी हिमानीले कन्या माविका चार सयजनाभन्दा बढी छात्रालाई फिल्टर आवश्यक नपर्ने प्रविधियुक्त बोतल वितरण गरेकी हुन् । जनकपुरधामको पानीमा आइरनको मात्रा बढी रहेकोले छात्राको स्वास्थ्यलाई मध्यनजर गर्दै आफैं पानी सफा हुने प्रविधियुक्त बोतल वितरण गरिएको हिमानी ट्रस्टले जनाएको छ ।

सो अवसरमा पूर्वयुवराज्ञी शाहले विद्यालयको भौतिक अवस्थाको बारेमा पनि चासो राखेको विद्यालयले जनाएको छ ।

आइतवार साँझ नै जनकपुरधाम आइपुगेकी शाहले विमानस्थलबाट ओर्लिना साथ सीधैं जानकी मन्दिरमा दर्शन गर्न पुगेकी थिइन् ।

पूर्वयुवराज्ञी शाहलाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको थियो । पूर्वयुवराज्ञीको स्वागतको लागि मन्दिरले रातो कार्पेट ओछ्याएका थिए । मन्दिरलाई झकिझकाउन पार्दै सिङ्गारिएको थियो ।

विमानस्थलबाट उत्रिएदेखि नै हिन्दुवादी र राजवादीहरूले राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए । पूर्वयुवराज्ञीको भ्रमणलाई ध्यान दिएर जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here