प्रस, सप्तरी, ३ असोज/
हिंड्डुल गर्न नसक्ने अर्थात् शारीरिकरूपमा अशक्त एक दम्पतीलाई जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले घरमैं गएर नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्रदान गरेका छन् ।
जिल्लाको रूपनी गाउँपालिका–५ बसबिट्टी निवासी ७० वर्षीया दसनीदेवी खत्वे र उनका पति ७४ वर्षीय मुसहरु खत्वेलाई प्रजिअ गौतमले आइतवार घरैमा पुगेर नागरिकता प्रदान गरेका हुन्। संविधान दिवसको अवसर पारेर अशक्त दम्पतीको घरैमा पुगेर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिएको जिप्रका सप्तरीले जनाएको छ ।
प्रजिअ गौतमको नेतृत्वमा नागरिकता प्रदान गर्न जाने टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह र प्रशासकीय अधिकृत कल्पना मानन्धर पनि सहभागी थिए । दम र पक्षघातबाट पीडित वृद्धा दसनी हिंड्डुल गर्न सक्दैन । उनी २० वर्षदेखि पक्षघात भई हिंड्डुल गर्न असमर्थ रहेको र राजविराज पुगेर प्रतिलिपि निकाल्न नसक्ने अवस्था रहेको भन्दै उनकी बुहारी तारादेवीले जिल्ला प्रशासन कार्यालयमा आग्रह गर्दै आएकी थिइन् ।
तारादेवीका ससुरा ७४ वर्षीय मुसहरु खत्वे पनि अशक्त छन् । वृद्ध दम्पतीका छोरा तथा तारादेवीका पति उत्तिम खङ्गको रोजगारको सिलसिलामा १० वर्षअघि मलेसियामा मृत्यु भएको थियो । तारादेवीले सासू–ससुरालाई स्याहार गरेर बसिरहेकी छन् । तारादेवीका दुई छोरा र एक छोरी छन् ।
दसनी र उनका पति मुसहरुले २०३९ सालमा नागरिकता लिएका थिए । तत्कालीन जिल्ला प्रशासन कार्यालयका कर्मचारीको लापरबाहीले दुवैजनाको नागरिकतामा एउटै नम्बर राखिदिएको कुरा निकै पछि पत्ता लाग्यो । पालिकाले सामाजिक सुरक्षा भत्ता हातैमा दिनेसम्म कुनै समस्या थिएन । अहिले बैंकबाट भुक्तानी दिने भएपछि बैंकले एउटै नम्बरका दुईवटा नागरिकतामा कारोबार गर्न नसकिने बताएपछि समस्यामा परेका थिए ।
सामाजिक सुरक्षा भत्ताबाट घर चलिरहेकोमा त्यो पनि रोकिएपछि ठूलो समस्या आइपरेको बुहारी तारादेवीले बताइन् । प्रजिअले नागरिकताको प्रतिलिपि घरैमा पुगेर दिएपछि अब जीवन भोकै मर्नु नपर्नेे भयो भन्ने आँट आएको वृद्ध मुरहरु खत्वेले बताए ।