राधेश्याम पटेल, वीरगंज, ३ असोज/
वीरगंजका होटल व्यवसायीहरूले सबै होटल बन्द गरी सरकारलाई साँचो बुझाउने चेतावनी दिएका छन् । सरकारले दुर्ई वर्षदेखि आफूहरूको माग नसुनेको र होटल दुर्ई वर्षदेखि बन्दसरह नै रहेकाले तालबन्दी गरी होटलको साँचो सरकारलाई बुझाउने बताए ।
होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंज, पर्साले हिजो शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष हरि पन्तले लामो समयसम्म सरकारले भारतीय गाडी प्रवेश गर्ने किसिमले सीमा सहज नगरेकाले व्यवसाय चौपट बन्दै गएको बताए । उनले अबको केही सातामा सीमा नखोले ठूलो आर्थिक भारले चेपिंदै जाने बताए । उनले यथावस्थामा सरकारलाई कर तिर्न नसक्ने असमर्थता पनि जाहेर गरे ।
कोरोना महामारीमा सरकारले २०७६ चैतदेखि भारतीय निजी सवारीसाधनको आवतजावत रोक्दा सीमावर्ती स्वदेशी शहरका होटल तथा पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको उनको भनाइ छ । सीमा क्षेत्रबाट आवागमन र उद्यम–व्यापार सामान्य अवस्थामा आइसकेकाले भारतीय निजी गाडीलाई मात्र रोक लगाउनुको औचित्य नभएको उनको तर्क छ ।
“भारतीय सिमानाबाट मानिसको आवागमन निर्वाधरूपमा भइरहेको छ । कोरोना महामारी नियन्त्रणका लागि निजी सवारीसाधन आवागमनमा लगाइएको रोक भने अझै हटेको छैन,” अध्यक्ष पन्तले भने, “सीमावर्ती क्षेत्रका होटल भारतीय पर्यटकमा आधारित रहेकाले आवागमन सहज नहुँदा व्यवसाय प्रभावित भएको छ ।”
अहिले निषेधाज्ञा नाममात्रको रहेको र बजार, व्यवसाय सामान्य लयमा फर्किसकेको अवस्थामा सवारी आवागमनमा मात्र रोक लगाउनु अव्यावहारिक भएको उनको भनाइ छ ।
कार्यक्रममा भिडियोमार्फत वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले स्वास्थ्य सतर्कताका मापदण्ड बनाएर होटल र पर्यटन व्यवसायलाई चलायमान बनाउने बताए । बन्दाबन्दी र निषेधाज्ञाको बेलामा नाकामा मानिसको आवागमन नरोकिएको र अहिले सीमा क्षेत्रमा कोरोनाको जोखिम कम रहेको उनले बताए । मानिसहरू पैदल हिंड्दा कोरोना नसर्ने, सवारीसाधनबाट सर्ने बुझाइ गलत रहेको नगरप्रमुख सरावगीले बताए ।
लड्र्स दियालो होटलका सञ्चालक अनिल रूँगटाले सिमानामा प्रभावकारी र छरितो स्वास्थ्य सतर्कताका मापदण्ड बनाएर सवारीसाधन सञ्चालनमा लागेको रोक हटाउनुपर्ने बताए ।
सीमानाकाबाट सवारी खोल्ने विषयमा कुरा गर्दा स्थानीय प्रशासनले माथिल्लो निकायलाई देखाउने गरेको नेपाली काङ्ग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीको भनाइ छ । भारतीय ग्राहक नआउँदा सीमा क्षेत्रसँगै नेपालका अन्य क्षेत्रको पर्यटन व्यवसाय पनि प्रभावित भएको उनले बताए ।
भारतीय पर्यटक सिमानामा गाडी थन्क्याएर पैदल हिंड्दै दुःख पाउन नेपाल नआउने तर्क नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठको छ । विगतमा नेपाल आउने भारत बिहारका पर्यटक यो समस्याका कारण अहिले आफ्नै देशको गोवातर्फ जान थालेको उनले बताए । भारत पूर्ण खोपतिर अग्रसर भइसकेकोले अब हामीले भारतबाट कोरोना भित्रिएला भनेर डर पाल्नु आवश्यक नरहेको अध्यक्ष लाठको भनाइ छ ।
भारतबाट दैनिक हजारौं मानिस पैदल नेपाल भित्रिने गरेको र उनीहरू पर्यटन क्षेत्रका ग्राहक नभएको तर सवारीसाधनबाट आउने व्यक्तिहरू पर्यटन क्षेत्रका ग्राहक भएको व्यवसायी रञ्जेश श्रेष्ठले बताए ।
होटल तथा पर्यटन व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष रचेन्द्रसिंह थापाले सीमावर्ती क्षेत्रमा खुलेका ८० प्रतिशत होटलका ग्राहक भारतीय नै रहेकाले गाडी आउजाउमा लगाइएको प्रतिबन्ध तत्काल खोल्नुपर्ने बताए । होटल व्यवसाय धरापमा पर्दा रोजगारमा समेत धक्का लागेको उनको भनाइ छ ।
सीमा क्षेत्रका होटल व्यवसायले भोगेको समस्याबारेमा विगतमा पनि सरोकारका निकायको ध्यानाकर्षण गराएकोमा माग सम्बोधन नभएको पर्यटन व्यवसायीको भनाइ छ ।
समस्याको सुनवाइ नभएकोले प्रधानमन्त्रीलाई नै भेटेर समाधानका लागि आग्रह गर्ने तयारीमा लागेको अध्यक्ष पन्तले जानकारी दिए । व्यवसाय नचल्दा बैंकको ब्याज, होटल भाडा, कर्मचारीको पारिश्रमिक, विद्युत्लगायतका नियमित खर्चको भार बढिरहेको र कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको व्यवसायीहरूले पत्रकार सम्मेलनमा गुनासो गरेका थिए ।