हाइप्रोफाइल सन्ततिहरू

0
37
  • कुमार रुपाखेती

परापूर्वकालदेखि नै गद्दीसीन राजा महाराजाका उत्तराधिकारी तथा रानी महारानीहरूले शासन र सत्तामा दखल दिंदै आएको इतिहास नै छ । राजा वीरेन्द्रकी अर्धाङ्गिनी रानी ऐश्वर्य त यस मामिलामा खासै चर्चामा थिइन् भने तत्कालीन युवराज दीपेन्द्र शाहलाई त दरबार हत्याकाण्डमा कलङ्कित नै बनाइयो ।

पूर्व युवराज पारसको चर्तिकला त सबैलाई थाहै छ । अस्ति भर्खर विनाहेलमेट पोखरामा मोटरसाइकल चलाइरहेका पारसलाई प्रहरीले हेलमेट खोइ भनी सोध्दा, उनका अनुयायीहरूले श्रीपेच धारण गर्ने टाउकोलाई हेलमेटको के काम भन्ने जवाफ फर्काएछन् । राजतन्त्रमा मात्र होइन गणतन्त्रमा समेत सत्ताधारीहरूका परिवारले हस्तक्षेप र चुरीफुरी देखाउँदै आएका छन् ।

गणेशमानकी पत्नी मङ्गलादेवी, विद्यादेवी भण्डारी, हिसिला यमी, वर्षमान पुनकी पत्नी, साहना प्रधान, सुजाता कोइरालाहरूले लोग्ने र पिताका नाममा सहजरूपमा सत्तामा पुग्न सके । त्यसो त देउवा पत्नी पनि चलनचल्तीमा कम्ता छैनन् ।

राजा महेन्द्रको शासनकालमा ज्ञानेन्द्र र धीरेन्द्र दाजुभाइको हवल्दारी पारा अझै याद गरिन्छ ।
त्यस्तै, गणतन्त्र नेपालका बुबा नेताहरूका छोरा नेताहरू प्रकाश र शशाङ्क कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि आदिहरू पनि बुबाको नामले माथि उक्लेका हुन् । अहिले देउवा पुत्र जयवीर देउवा चर्चाको शिखरमा छन् ।

राजनीतिशास्त्र पढेको भनेको उनले राजनीतिको कखरा नजान्दासमेत आरजु राणाको बलजोडमा ठूलै तामझामका साथ काङ्ग्रेसको राजनीतिमा प्रवेश गराइएको छ । जयवीरको प्रवेशले डडेल्धुरा क्षेत्रका अनुभवी र खारिएका एक काङ्ग्रेसी नेताको भाग हरण हुने भए तापनि देउवाको डरले त्यताका काङ्ग्रेसीहरूले हाइप्रोफाइल देउवा पुत्रको विपक्षमा चुइँक्क गर्न सकेका छैनन् । नेपाली काङ्ग्रेसलाई कुनै बखत कोइराला काङ्गे्रस भनिन्थ्यो तर अहिले काङ्ग्रेसमा कोइराला परिवार पाखा लागेको र देउवा परिवार हावी छ ।

पारिवारिक सदस्यहरूलाई मात्र उत्तराधिकारी बनाउने चलन भारतमा निकै चर्चामा रहन्छ । पारिवारिक सदस्यहरूको हालीमुहालीले गर्दा भारतमा इन्दिरा काङ्ग्रेस दिनानुदिन दयनीय अवस्थामा पुगेको प्रत्यक्ष देख्दादेख्दै पनि नेपाली काङ्ग्रेसले सबक सिकेको देखिंदैन । त्यसै पनि अहिले काकताली परेर सत्तामा रहेको नेपाली काङ्ग्रेसको हैसियत ओलीको एमालेभन्दा निकै तल देखिन्छ संसद्मा ।

देउवा परिवार अहिले काङ्ग्रेसलाई एकताबद्ध र बलियो बनाउनुको सट्टा नवयुवराज जयवीर देउवालाई स्ट्रङ बनाउन, विज्ञापन गर्न सक्रिय देखिन्छ । धन्य, झलनाथ र रामचन्द्र पौडेलहरूले छोराहरूलाई ‘ए–वन’को ठेकेदार पेशामा लगाएका छन् । गृहमन्त्री हुँदा रामबहादुर थापा बादल र वामदेव गौतमका छोराहरूको उठबस र खानपिन कस्ता–कस्ताहरूसँग हुन्थ्यो भन्ने कुरा राजधानीवासीलाई सोधे काफी जानकारी पाइन्छ ।

शासनसत्तामा कमजोर पकड र पार्टीको अवस्था गतिलो नहुँदासमेत अरू भाडमा जाए भन्दै पत्नी र छोराछोरीहरूलाई सत्ताको पाङ्ग्रामा बलजफ्ती फनफनी घुमाउन नेपाली नेताहरू सिपालु मानिन्छन् । पत्नी तुलसा थापालाई ओलीले मन्त्री नबनाएको झोंक वामदेव गौतम अझै प्रदर्शन गर्दैछन् ।

राजाको छोरा राजा हुने परिपाटीको कट्टर आलोचक मानिने काङ्ग्रेस, कम्युनिस्टहरूको यस्तो परिवार मोह देखेर दुःखदर्द खेपेका नेताहरूको मुटु चसक्क गरे पनि आफ्नो वाक् स्वतन्त्रतामा अघोषित अङ्कुश लगाउन लाचार छन् । समानुपातिकमा पैसावालहरूको बोलबाला, प्रत्यक्षतर्फ आफन्तवाद र परिवारवादले ग्रसित नेपाली राजनीतिले नराम्रो सन्देश प्रवाह गर्दासमेत नेताहरू मनमौजी ढङ्गले चलेको देख्दा, भविष्यमा हाम्रा राजनीतिक दलहरू परिवारवादकै सेरोफेरोमा समाप्त हुने देखिन्छ । तराईमा उपेन्द्र यादवको जसपालाई यादवहरूको दादागिरी चल्ने दलको रूपमा चिनिन्छ ।

अहिले नेपालमा सक्रिय मधेसी दलबाहेक अन्य सबै राजनीतिक दलका नेताहरूले पञ्चायती दमन खेपेका, सर्वस्व हरण भएका तथा जेलनेल भोगेका छन् । यातना र दमनबाट खारिएर आएका भनिएका यिनको रवैया त यस्तो खेदजनक छ भने सहज परिस्थितिमा राजनीतिको केन्द्रमा पुगेकाहरूले भोलिको दिनमा फरियावादलाई मात्र उचालेर हिंड्न के बेर !

त्यसै पनि अचेल त नेपालमा शक्तिमा पुग्ने बित्तिकै गोरु बेचेको साइनो जोडेर कुममा कुम मिलाउनेहरू थुप्रै भेटिन्छन् । योग्यता र अनुभव अनि सङ्घर्षको स्थान अहिले नातावाद, कृपावादले लिएको छ । काङ्ग्रेसका अर्जुननरसिंह केसी आफू शक्तिहीन भएपनि ज्वाइँ साहेब गगन थापालाई नेपाली काङ्ग्रेसमा शक्तिशाली देख्न चाहन्छन् ।

बुई चढेर पार्टी राजनीतिको केन्द्रमा पुग्नेहरूको फुर्तीफार्ती देखेर मन खिन्न भएका एकजना काङ्ग्रेसीले आफ्नो हैसियत अब (गाछी छाप) रूख चिह्नमा मोहर लगाउनेमा मात्र सीमित भएको बताउँदै थिए । आफू र आफन्तहरूले पद नपाएको, बल मिच्याइँमा परेको भन्दै माधव नेपालहरू सूर्य चिह्नको एक टुक्रा लिएर आफन्तहरूलाई मन्त्री पदको रसस्वादन गराउन पाउने भएकोमा आफूलाई धन्य ठान्न थालेका छन् ।

पार्टी टुक्र्याउनु नै उनीहरूको माक्र्सवाद र लेनिनवाद बनेको छ भने टुक्रे सूर्यमा एकछत्र हालीमुहाली चलाउन पाउने भएकोले ओली सर्वहारा क्रान्ति सफल भएको ठान्दैछन् । पदकै लागि यसअघि देउवाले काङ्ग्रेस र वामदेवले एमालेलाई टुक्राएकै हुन् । तर अहिले परिस्थिति बदलिएकाले नेताहरूले फराकिलोपन देखाउँदै छोरा र पत्नीहरूलाई समेत गरिखाने जोहो गरिदिएका छन् ।

नेपाली राजनीति सदा नै ‘हिङ्ग लगे न फिटकिरी माल चोखा’ बनेको छ । मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईझैं फटेहाल राजनीति गर्न कोही चाहँदैन । नेपालमा उखान नै छ एकपटक मन्त्री बनेपछि सात पुस्तालाई खान पुग्छ । अब पुस्ताका पुस्ता नै राजनीतिमा उतारेपछि झन् कति पुस्तालाई सुतेर खान पुग्छ होला । कुनै बेला पत्नीको कमाइमा रजाइँ गर्नेहरूलाई भतुवा भनिन्थ्यो । अचेल त खूबी भएकाहरूले छिटोछरितो काम गराउन नेताहरूको साटो तिनका पत्नीहरूलाई दिएर लिएर रिझाउँछन् । यस्ता नेताका पत्नीहरूको सानले कमाउँदै घर धानेका छन् भतुवा नेताहरूले ।

२०४७ सालपछि बेकम्माहरू नेपाली राजनीतिमा हावी भएकाले हाम्रो राजनीतिक स्तर विश्वसामु खस्किंदै गएको छ । यस्ता बेकम्माहरूको निकम्मा सन्तानहरू राजनीतिको शीर्षमा पुग्दै जाँदा भविष्यमा हाम्रो र मुलुकको हबिगत के होला भन्ने सम्झँदा नै कहाली लागेर आउँछ । चिट चोरेर पास हुने विद्यार्थी र उत्तराधिकारीको रूपमा जबरजस्ती लादिएका र नेता बनाइएकाहरूको अनुभवहीनतामा कुनै फरक रहँदैन ।

महाधिवेशनको सङ्घारमा देउवा पुत्रलाई ललाइफकाइ हाइप्रोफाइल उत्तराधिकारी बनाउनु देउवाकै लागि घातक हुन सक्ने काङ्ग्रेसीहरू नै बताउँछन् । त्यसै पनि नेपालमा बहुदल आएपछि ‘ज्यादा जोगी मठ उजाड’को अवस्था छ, त्यसमा पनि फरिया समातेर नेता बन्ने बनाउने रहरले गर्दा मुलुकको अवस्था ‘जहाँ हर डाल में उल्लू बैठा है’ जस्तै–जस्तै देखिन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here