लोसपाका नेताहरू ओलीका मतियार –मुख्यमन्त्री गद्दी

0
21

प्रस, ठोरी, ३ असोज/

मुख्यमन्त्री लालबाबू राउत गद्दीले जनता समाजवादी पार्टीबाट छुट्टिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूलाई संसद् विघटन गर्ने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मतियार बनेको आरोप लगाएका छन् ।

उनले त्यति बेला नै ओलीको अलोकतान्त्रिक र गैरसंवैधानिक कदमको पार्टीले कहिल्यै पनि स्वागत गर्न नसक्ने अवस्था हुँदाहुँदै ओलीको पछि लागेर केही नेताले लोसपा गठन गरेको बताए ।

ठोरी गाउँपालिकामा आइतवार आयोजित जनता समाजवादी पार्टी, नेपालको सङ्गठन सुदृढीकरण तथा जनजागरण अभियान अन्तर्गत अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले तत्कालीन समयमा प्रधानमन्त्री ओलीसँग मधेसमा नागरिकताको समस्या समाधान, विभिन्न आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा खारेज गराउन सफल भएको भनेर महन्थ ठाकुरले उतिबेला प्रचारप्रसार गरे पनि अहिलेसम्म एकजनाको पनि मुद्दा फिर्ता नभएको र नागरिकता अध्यादेशबमोजिम एकजनाले पनि नागरिकता प्राप्त नगरेको बताए । पूर्वप्रम ओलीकै कारण प्रदेश २ मा प्रदेश समायोजन ऐन ल्याउन ढिलाइ भएको उनले आरोप लगाए ।

मुख्यमन्त्री गद्दीले आज देशभर संविधान दिवस मनाइरहँदा संविधानमा रहेका विभेदकारी र त्रुटिपूर्ण धाराहरू नसच्याएसम्म संविधान सर्वस्वीकार्य हुन नसक्ने भएकोले संशोधन नगरेसम्म संविधानको विरोध पार्टीले गरिरहने बताए । उनले ठोरीको शिकारीबास गाउँका समस्या, ठोरीमा नदी नियन्त्रण, सिंचाइलगायत समस्या समाधानमा प्रदेश सरकारको सकारात्मक सहयोग रहने प्रतिबद्धता जनाए ।

सङ्घीय सांसद प्रदीप यादवले संविधानका धेरै धारामा जसपाको विमति रहेको बताउँदै जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म आफूहरूले संविधानको स्वामित्व ग्रहण नगर्ने बताए । उनले ठोरीका लागि विशेष प्याकेज ल्याउन मुख्यमन्त्रीसँग आग्रह गरे । उनले जग्गाको हालसाबिक गर्नु गलत भएको बताए ।

कार्यक्रममा जसपा केन्द्रीय सदस्य आङ्काजी शेर्पाले पर्सा निर्वाचन क्षेत्र नं ४ मा अब जसपाबाहेक अन्य दलका उम्मेदवारले नजित्ने ठोकुवा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here