विद्यार्थी र व्यक्तित्व निर्माण

  • अनन्तकुमार लाल दास

२१ औं शताब्दी प्रतिस्पर्धाको युग हो । आज जीवनको हरेक पाइलामा सफलताका लागि एक अर्कासँग प्रतिस्पर्धा गर्नुपर्छ । यो प्रतिस्पर्धा मात्र पढाइको माध्यमले जित्न सकिन्न । जीवन सङ्घर्षमा जीत हासिल गर्नका लागि केही खास बन्नुपर्छ । यो विशेषता तपाईंको व्यक्तित्वमा निहित हुन्छ, जसले तपाईंलाई भीडमा पनि केही ‘खास’ बनाउँछ । ‘व्यक्तित्व’ एउटा व्यापक र गहिरो विषय हो । यसको कुनै सीमा छैन ।

यस सम्बन्धमा जति लेख्दा पनि थोरै हुन्छ तर विद्यार्थीहरूको लागि यस विषयमा लेख्दा मैले यसको एउटा सीमा निर्धारण गरेको छु । त्यो सीमा भनेको जो विद्यार्थी अहिले अध्ययरत छन् र जो आफ्नो क्यारियर निर्माण गर्न अग्रसर छन् । कार्ल गुस्ताभले के भनेका छन्–“दुई व्यक्तिबीचको मिलन दुईवटा रासायनिक तŒवहरूको मिलन जस्तै हुन्छ । यसबाट हुने प्रतिक्रियाको फलस्वरूप दुवैमा परिवर्तन देखा पर्छ ।”

शेक्सपियरको नाटक ‘ओथेलो’मा एउटा पात्र छ–डेस्डेमोना । धनी बुवाको एकमात्र राम्री छोरी डेस्डेमोनाले कैयौं सुन्दर राजकुमारको प्रेम प्रस्तावको वास्ता गरिनन्, तर प्रेम गरिन् अत्यन्त एकजना गरी हब्शी सैनिक ओथेलोसँग । ओथेलोमा डेस्डेमोनालाई विश्वको सबै खाले सुन्दरता देखा प¥यो । यस उदाहरणले सुन्दरता व्यक्तित्वको पर्याय होइन भन्ने प्रस्ट हुन्छ । अर्थात् व्यक्तित्व त अरू थोक हो, जसले मानिसलाई सुन्दर बनाउने काम गर्छ । यस कारण के भन्न सकिन्छ भने व्यक्तित्वको असर आकर्षण नभई प्रभावको रूपमा हुनुपर्छ ।

अष्टावक्र धेरै कुरूप थिए । शरीरको आठवटा भाग बाङ्गो भएको हुनाले नै उनलाई अष्टावक्र भनिन्थ्यो । उनी कस्ता देखिन्थे एक छिन कल्पना गर्नुहोस् । एकपटक उनी राजा जनकको दरबारमा पुगे । उनलाई देख्नासाथ जनकका दरबारीहरू हाँस्न थाले । दरबारीहरू हाँसेको देखेर अष्टावक्रले भने– “मलाई त के थाहा थियो भने ज्ञानी राजा जनकको दरबार विद्वान्हरूले भरिएको होला, तर अफसोस यहाँ त सबै चर्मकार बसेको पाएँ ।” यो सुनेर दरबारमा स्तब्धता छायो । अष्टावक्रले भन्न खोजेको कुरा राजा जनकले बुझे । शरीर हेरेर व्यक्तिको मूल्याङ्कन गर्ने व्यक्ति चर्मकार हो ।

व्यक्तित्व विकासको क्रममा ध्यान दिनुपर्ने मुख्य कुरो हो हाम्रो आन्तरिक गुणले नै हाम्रो व्यक्तित्वलाई सुगन्ध प्रदान गर्दछ । प्लास्टिकको फूल वास्तविक र सजीवजस्तै देखिए तापनि त्यसमा वास्तविक फूलजस्तै सुगन्ध र कोमलता हुँदैन । नक्कली फूलले जसरी वास्तविक फूलको ठाउँ लिन सक्दैन त्यसैगरी नक्कली व्यक्तित्वले दीर्घकालसम्म कसैलाई प्रभावित गर्न सक्दैन ।

यस कारण व्यक्तित्व विकासको क्रममा ‘यो नै व्यक्तित्व हो’ भन्नु मूर्खतापूर्ण हुन्छ । यो एउटा सागरजस्तै हो । सागरमा कहाँ–कहाँबाट पानी आउँछ, भन्न जसरी सजिलो छैन त्यसैगरी हाम्रो व्यक्तित्व निर्माण पनि हुन्छ । हामी त्यसलाई मात्र बुझ्न सक्छौं, जसलाई हामीले हेर्छौं र अनुभव गर्छौं । अनुभवको आधारमा विद्यार्थीहरूको व्यक्तित्व निर्माणमा ‘शिष्टाचार’को महŒवपूर्ण भूमिका हुन्छ । शिष्टाचार शब्द ‘शिष्ट’ र ‘आचार’ दुई शब्द मिलेर बनेको छ । यो हाम्रो बाह्य र आन्तरिक दुवै प्रकारका गुणहरूको मिश्रण हो । ‘शिष्ट’ बाह्य र ‘आचार’ आन्तरिक गुण हो ।

शिष्टता सिक्नुपर्छ जुन हामी आफ्नो परिवार र परिवेशबाट सिक्छौं भने ‘आचार’ संस्कारको रूपमा हामीभित्र हुन्छ । आवश्यकता के मात्र हो भने त्यसको राम्रो प्रभावको लागि कुन रूपमा समाज अगाडि पस्कने । यो एक प्रकारको प्रस्तुति हो । अनुभवले के देखाएको छ भने धेरै मानिस आचारको दृष्टिले राम्रा हुन्छन् । उनीहरू इमानदार, निष्ठावान् र संस्कारवान् पनि हुन्छन् तर जुन बेला त्यसलाई अरूको अगाडि प्रस्तुत गर्नुपर्ने बेला आउँछ, उनीहरू पछाडि पर्छन् । प्रायः गाउँलेहरूसँग यस्तै हुने गर्छ ।

ठीक यसविपरीत धेरै यस्ता मानिस हुन्छन् जो आचारको मामिलामा राम्रा हुँदैनन् । स्वार्थ नै उनीहरूको जीवनको केन्द्रमा हुन्छ तर शिष्टाचारको सवालमा उनीहरू निपुण हुन्छन् । तपाईं यस्ता मानिसलाई भेट्दा तत्काल प्रभावित हुनुहुन्छ तर केही दिनमैं उसको आचारबारे थाहा हुन्छ । यिनीहरू हरेक कुरामा ‘धन्यवाद’ भन्छन् । यिनीहरू तपाईंलाई “के म तपाईंको सहायता गर्न सक्छु ?” पनि भन्छन् तर वास्तवमा तपाईं उनीहरूको सहायता लिन रुचाउनुहुन्न किनभने उनीहरूले साँच्चीकै तपाईंको सहायता गर्छन् भन्ने विश्वास दिलाउन सकिरहेका हुँदैनन् ।

यस खाले प्रवृत्तिलाई ‘प्लास्टिकको फूल’ भन्न सकिन्छ । गाउँलेहरू सहायता गर्न चाहन्छन् र यदि उनीहरूसँग सहायताको माग गरियो भने निस्स्वार्थ भावले सहयता पनि गर्छन् तर मुश्किल के छ भने उनीहरूले “के म तपाईंको सहायता गर्न सक्छु ?” भन्न जान्दैनन् । यदि तपाईं गाउँलेहरूका लागि केही गर्नुहुन्छ भने यिनीहरू तपाईंप्रति कृतज्ञ हुन्छन् र तपाईंको लागि जे पनि गर्न तयार हुन्छन् तर एउटा स्यानो शब्द ‘धन्यवाद’ भन्न सक्दैनन् ।

व्यक्तित्व निर्माण गर्न खोज्दा विद्यार्थीहरूले स्वयंको ठाउँमा अरूलाई आफूभित्र प्रवेश गराउने गल्ती गर्छन् । उनीहरूलाई के लाग्दछ भने ऊजस्तो बनेपछि मात्र सफलता हासिल हुन्छ । यसको एकमात्र कारण के हो भने हामीलाई आफ्नो मोडेलको बाह्य कुरा मात्र देखापर्छ । यस कारण त्यसलाई स्वीकार गर्न कुनै अप्ठेरो हुँदैन । तर सत्य के हो भने अरूको स्वरूप धारण गर्ने मानिससँग आफ्नो केही हुँदैन ।

विश्वको जतिसुकै उन्नत र विकसित संस्कृति भए तापनि त्यसमा आफूभन्दा ठूला, महिला वा बुजुर्गलाई सम्मान र आदर दिनु राम्रो मानिन्छ । तपाईं जुन संस्कृतिसँग सम्बन्धित भए पनि के याद राख्नुस् भने “अरूलाई सम्मान दिनाले आफ्नै सम्मान बढ्छ ।” यस सम्बन्धमा कुनै पनि प्रकारको भ्रम पाल्नुहुँदैन । तपाईं जस्तो दिनुहुन्छ त्यस्तै पाउनुहुन्छ भन्ने प्राकृतिक नियम हो । यदि तपाईं सम्मान प्राप्त गर्न चाहनुहुन्छ भने अरूलाई पनि सम्मान दिनुपर्छ । कुनै व्यक्तिको गरिमालाई सम्मान दिनु शिष्टाचारको सर्वोत्तम गुण हो ।

यस कारण कसैलाई नमस्कार गर्न सङ्कोच र ढिलो गर्नुहुन्न । यसैगरी कोही तपाईंलाई भेट्न आउँछ भने उठेर उसको सम्मान गर्नुपर्छ र पहिले उसलाई बसाई आफू बस्नुपर्छ । बसीबसी कसैको स्वागत र इशारा गरी कहिल्यै पनि कसैलाई बस्न भन्नुहुन्न । यदि ढोका खोली कसैको स्वागत गर्नुहुन्छ भने हातको सङ्केतले उसलाई पहिले भित्र आउन भन्नुहोस् त्यसपछि तपाईं भित्र प्रवेश गर्नुहोस् । आफूभन्दा ठूलासँग कुरा गर्दा सजग र आदरसूचक सम्बोधन प्रयोग गर्नुपर्छ ।

जस्तै “तपाईं के लिनुहुन्छ, चिया वा कफी ?” ठूलो स्वरमा कुरा गर्नु, बढी बोल्नु, बीचमा कुरा काट्नु शिष्टाचारको नराम्रो उदाहरण हो । आफूभन्दा ठूलासँग कुरा गर्दा तपाईंको हरेक अङ्गबाट विनम्रता प्रदर्शित हुनुपर्छ । आफूभन्दा ठूलाको आलोचना गर्नु राम्रो शिष्टाचार होइन । आफूभन्दा ठूलाको कुनै कुराबाट असहमत हुँदैमा विरोध गरिहाल्नु राम्रो होइन । विरोध गर्नु छ भने पूर्ण शिष्टताको साथ गर्नुपर्छ । कुरा समाप्त भइसकेपछि फर्कंदा बाहिरसम्म छोड्न जानुहोस्।

यसैगरी विद्यार्थीहरूले आफ्नो सबै काम आपैंm गर्नुपर्छ । जस्तै लुगा धुनु, प्रेस गर्नु, जुत्ता पालिश गर्नु, आफ्नो सामान ठीक ठाउँमा राख्नु, घरको काममा सहयोग गर्नु आदि । अर्थात् विद्यार्थीहरू स्वावलम्बी बन्नुपर्छ किनभने अरूमाथि आश्रित हुनुको अर्थ कमजोर हुनु हो । कमजोर हुनुको अर्थ हाम्रो व्यक्तित्व कमजोर हुनु हो । विद्यार्थीहरूले जिम्मेवारी वहन गर्ने क्षमता विकसित गर्नुपर्छ । बहाना बनाएर यसबाट पन्छिने कोशिश गर्नुहुन्न किनभने विद्यालयमा पढाइ पहिले हुन्छ र पछि परीक्षा, तर जीवनमा परीक्षा पहिले र पढाइ पछि हुन्छ । यस कारण आफ्नो वा घरको काम मात्र हैन, अरूको वा छरछिमेकको काम जे तपाईं गर्न सक्नुहुन्छ, गर्नुपर्छ ।

व्यक्तित्व निर्माणको क्रममा विद्यार्थीहरूले ‘बाडी लैंग्वेज’ माथि पनि ध्यान दिनुपर्छ । सबैभन्दा पहिले हाम्रो कुन–कुन शारीरिक गतिविधि ठीक र कुन बेठीक थाहा पाउनुपर्छ । बेठीक गतिविधि ठीक गर्न नियमित अभ्यास गर्नुपर्छ । बिस्तारै हाम्रो ‘बाडी लैंग्वेज’ राम्रो हुँदै जान्छ । यस सम्बन्धमा नमूनाको रूपमा महानायक अमिताभ बच्चनलाई लिन सकिन्छ ।

‘कौन बनेगा करोडपति’ खेल खेलाउँदा उनीद्वारा गरिने हरेक क्रियाकलापको निरीक्षण गर्नुहोस् । उनको ससाना भावलाई ध्यानले नियाल्नुहोस् । त्यसको विश्लेषण गर्नुहोस् । तपाईं के पाउनुहुन्छ भने उनी बोल्दा उनको हरेक अङ्गले साथ दिन्छ । जब हामी भित्रबाट केही कुरा गर्छौं भने हाम्रो शरीरको एक–एक कोषिकाले कुरासँगसँगै सामञ्जस्य स्थापित गरिहाल्छ ।

एकपटक हेनरी फोर्डले विदेश जाँदा फाटेको पुरानो कोट लगाउँदा उनका सल्लाहकारले भने–“यो कोट राम्रो देखिरहेको छैन । कुनै अर्को कोट किन लगाउनुहुन्न ? हेनरी फोर्डले भने–“मेरो साथी, जुनबेला म अमेरिकामा बस्छु त्यहाँ सबैले मलाई चिन्छन् । मैले जस्तो कोट लगाए पनि केही फरक पर्दैन । त्यहाँ मलाई कसैले चिन्दैन ।

यस कारण जस्तोसुकै कोट लगाए पनि केही फरक पर्दैन ।” फोर्डको विचारलाई यहाँ प्रस्तुत गर्नुको अर्थ के हो भने जुनबेला विद्यार्थीले आफ्नो गन्तव्य हासिल गर्छन् त्यस बेला जस्तोसुकै लुगा लगाए वा कपाल काटे पनि केही परक पर्दैन अर्थात् पहिरनको आधारमा कसैले न प्रशंसा पाउँछ, न सफलता । तर पहिरनबाट अलिकति भए पनि व्यक्तित्व निर्माणमा सहयोग अवश्य नै प्राप्त हुन्छ ।

तपाईंको सामुन्ने एउटा मानिस आउँछ जसले सूटबुट लगाएको छ । जसले टाई पनि बाँधेको छ र आँखामा चश्मा पनि लगााएको छ । त्यसैबेला सोही बाटो भएर एउटा अर्को मानिस जसले धोती र कुर्ता लगाएको छ, निस्किन्छ । अब तपाईंको अगाडि एउटा कपाल अस्तव्यस्त भएको अर्को व्यक्ति आउँछ जसले कानमा बाली पनि लगाएको छ र जीउमा जिप खुलेको ज्याकेट छ । उसका पछाडि महिलाहरूको समूह आउँछ जसमध्ये एउटाले साडी लगाएकी छे, अर्कीले जिन्स र अर्कीले स्कर्ट ।

मलाई लाग्दैन यसपछि केही लेख्ने आवश्यकता छ । के तपाईंले यिनीहरूबारे पढेर नै केही धारणा बनाउनु भएन ? मलाई थाहा छ तपाईंको जवाफ के हुन्छ किनभने यो मसँग मात्र हैन सबैसँग हुन्छ । यसलाई नै म भन्छु पहिरनको भाषा अर्थात् लैग्वेज अफ ड्रेसेज ।

के माग अनुसार स्वाँग गर्ने चलन अँगाल्नु नै पर्सनेल्टी हो ? आजभोलि व्यक्तित्व निर्माणको कुरो गर्दा यस्तै कुरामाथि जोड दिने गरिन्छ । जस्तै, यस्तो लुगा लगाउनुपर्छ, यस्तो हेयर स्टाइल हुनुपर्छ, यसरी बस्नुपर्छ, यसरी बोल्नुपर्छ आदि । मलाईं लाग्दैन तपाईंको सोच पनि योभन्दा फरक होला । तर यो मूलरूपमा पश्चिमा धारणा र त्यहाँको संस्कृति हो । आज हामी पश्चिमलाई नै सर्वेसर्वा मान्न थालेका छौं ।

यस कारण हामी सबैलाई पनि के लाग्दछ भने यसो गर्नु नै व्यक्तित्व निर्माण हो । पूर्वी धारणा पश्चिमी धारणाको विरोधमा त छैन तर त्यसभन्दा केही फरक अवश्य छ । विद्यार्थीहरूले व्यक्तित्व निर्माणको क्रममा आफ्नो संस्कृति र संस्कार अनुसार केही फरक गरेमा सजिलै जित्न सकिन्छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्