असोज ३ गते संविधान दिवस । अर्थात् आजकै दिन नेपालको अधुनातन संविधान निर्माण भई लागू भएको दिन । सानो देश नेपालमा सानो समयमा बनेका कैयौं संविधानहरूको भीडमा नयाँ–नौलो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान । कुरा नयाँ–पुरानो, विभिन्न विशेषताले सज्जितभन्दा पनि कार्यान्वयन पक्ष्F र संविधानको मर्म अनुसार आचरण भइरहेको छ कि छैन भन्ने हो । संविधान बनेकै दिन यसको विरोध भयो, यो स्वाभाविक हो । जीवन्त समाजमा कुनै पनि कुरा जस्ताको त्यस्तै सबैलाई स्वीकार्य हुँदैन । मानिस आफूमा कहिले पनि पूर्ण हुँदैन, त्यसैले उसले बनाएको कुरा पनि पूर्ण हुन सक्दैन । देखा परेका त्रुटिहरूलाई संशोधन गर्दै जाँदा, परिमार्जनको बाटो खुल्छ, बिस्तारै त्यसले पूर्णता पाउँछ । त्यसका लागि संविधानले बाटो पनि खुला राखेको छ । तर खुला बाटोबाट असल कुरा प्रवेश नगराउने, घटिया, स्वार्थप्रेरित कुरालाई मात्र प्रवेश दिंदै जाने हो भने संविधान सबैको लागि अरुचिकर बन्न जान्छ। संविधानले बहुदलीय व्यवस्था अङ्गीकार गरेको छ । अर्थात् दलहरू बलिया र देशहितकारक हुनुपर्छ भन्ने ध्येय हो ।
बितेको समयमा दलहरूको हबिगत हेर्दा संविधानले नै दलहरूलाई बलियो बन्न नदिएको देखिन्छ । एकथरीले दल फुटको शिकार नहोस् भनेर एउटा अध्यादेश ल्याउँछ, अर्कोले अर्को अध्यादेश जारी गरी दल फुटाउने मार्ग प्रशस्त गर्छ । देशको सन्दर्भमा दल महŒवपूर्ण कि व्यक्ति भन्ने प्रश्नको सहज उत्तर हो–दल । तर दललाई दलदलमा पार्ने काम भइरहेको छ, व्यक्तिलाई महŒव दिइएको छ । संविधानको यो मर्म कदापि थिएन, होइन पनि, तर काम विपरीत भएको छ । दल बलियो छ भने व्यक्तिको चलखेल हुन पाउँदैन । व्यक्तिको चलखेल भएन भने सुशासनको मार्ग फराकिलो हुन्छ । नेपालका सबै संविधानको लाचारी व्यक्तिको सर्वोच्चता कायम गर्नमा सीमित रह्यो । संविधान धेरै बने तर व्यक्ति उही रह्यो । संविधानले व्यक्तिको चरित्र र सोचमा परिवर्तन ल्याउन सक्दैन भने जस्तोसुकै पनि राम्रो संविधानले कल्याण सम्भव छैन । पञ्चायतकालको संविधानदेखि आजको लोकतान्त्रिक गणतन्त्रात्मक संविधानसम्म कमोबेस उही व्यक्तिहरूको वर्चस्व देखिएको छ । न संविधानले पार्टी विखण्डन रोक्न सकेको छ, न हरेक संविधानमा अगुवा बनेकाहरूलाई वर्जना गर्न सकेको छ । यस्तो पनि कहीं हुन्छ, एउटा संविधानको समर्थन गर्ने व्यक्ति त्यसको बदलामा आएको संविधानमा पनि समावेश हुन सकोस् ? यो त दुलोमा पस्दा सोझो हिंड्ने र बाहिर बाङ्गोटिङ्गो हिंड्ने सर्प–प्रवृत्ति हो ।
गतिरोध कुनै पनि अवस्थामा विकासको द्योतक हुन सक्दैन । सबै राजनीतिक पार्टीमा गतिरोध छ । औषधिको बोतलको बिर्को थुनिएको अवस्थामा त्यसभित्रको पदार्थ बाहिर निस्कन सक्दैन। रोगले मानिस मर्छ । त्यही हाल छ । सबै दलमा असल मानिसहरूको कुनै कमी छैन, तर अगुवाहरू बोतलको बिर्को बनेर बसिदिंदा र कुनै पनि संविधानले तिनलाई त्याज्य बनाउन नसक्दा भित्रको असल कार्यकर्तारूपी ओखति खेर गइरहेको छ । नेपालमा संविधान आफैंमा नराम्रो छैन, तर राम्रो गर्न नसक्ने, फुट, कलह, विवाद र परिवर्तनलाई आत्मसात् गर्न नसक्ने अवस्था छ भने त्यो राम्रोले कसैको कल्याण सम्भव छैन । सडेगले, कुण्ठ दिमागको वर्चस्वले संविधानको फजिहत मात्र भइरहेको छ ।