प्रस, परवानीपुर, २ असोज/

ज्येष्ठ नागरिक सङ्घ पर्साको आठौं साधारणसभा सम्पन्न भएको छ ।

प्रतीक दैनिकको कार्यालय वीरगंजमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले गरेकी थिइन् । उनले बुढेसकालमा पनि ज्येष्ठ नागरिकहरू सङ्गठित भएर सँगै काम गर्न पाउनु खुशीको कुरा भएको बताइन् ।

सङ्घकी सदस्य ९२ वर्षीया उपप्रमुख कार्कीले सङ्घमा आबद्ध भएर प्रायःजसो भेट नहुने सदस्यहरूसँग पनि सङ्घका विभिन्न कार्यक्रममा भेट हुँदा खुशी लाग्ने गरेको र आआफ्ना भोगाइ र अनुभव साटासाट गर्दा मन हलुको हुने गरेको चर्चा गरिन् ।

उनले वृद्धावस्था पीडादायी अवस्था भएकोले सबैले आआफ्नो देखभाल गर्दै स्वस्थ रहन जीवनशैली तथा आहारविहारमा पनि परिवर्तन ल्याउनुपर्ने आग्रह गरिन् ।

कार्यक्रममा डा श्यामसुन्दर दासले वृद्धावस्थामा विभिन्न रोग लाग्ने भएकाले विशेषगरी मधुमेह, उच्च रक्तचाप जस्ता रोग लाग्नै नदिन सावधानी अपनाउन अपील गरे । उनले मधुमेह रोगीहरूका लागि एक घण्टा पैदल हिंड्नुपर्ने, दिनमा चारपटक खानुपर्ने र औषधि समयमा लिनुपर्नेमा जोड दिए । डा दासले वृद्धावस्थामा आलु, चिनी र मिठाइ नखान सहभागीहरूलाई सचेत पारेका थिए ।

पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले सेवानिवृत्तपछि पनि के के गर्ने भन्नेबारेमा योजनाबद्धरूपमा अघि बढ्नुपर्ने सुझाव दिए ।

उनले वृद्धावस्थामा परिवार तथा जनधनको सुरक्षाको बढी आवश्यकता हुने भएकोले कुनै ज्येष्ठ नागरिकलाई समस्या भए आफूलाई जानकारी गराउन अपील गरे । उनले समस्याको समाधानमा गम्भीर भएर पहल गर्ने आश्वासन दिए ।

नेपाल पत्रकार महासङ्घ प्रदेश २ का महासचिव श्याम बन्जाराले वृद्धवृद्धाहरूको लागि सरकारी नीतिगत थुप्रै व्यवस्था भए तपानि हालसम्म ती सुविधाहरूबाट ज्येष्ठ नागरिक वञ्चित रहेकाले सरोकारवालाहरूले ध्यान दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा सङ्घका तर्फबाट संस्थाको अनुशासन पालना गरी राम्रो सक्रियता देखाएका दुईजना सदस्यलाई प्रशंसापत्रबाट सम्मानित गरिएको थियो । सङ्घका सदस्य ज्योति साह र नरेन्द्र तिवारीलाई प्रशंसापत्रसहित सम्मानित गरिएको थियो ।

सङ्घका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा चण्डीप्रसाद गण श्रीपुरका मेजर नैना बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदी, सचिव श्याम पटेल, नवीन सिंह, डा सुषमा तिवारी द्विवेदी, नेकपाका नेता अरविन्द सिंहलगायत ज्येष्ठ नागरिक सङ्घका पदाधिकारी सदस्यहरूको सहभागिता थियो।

कार्यक्रममा सङ्घका सचिव जुमाद्दीन शेख हवारीले वार्षिक कार्यक्रम तथा गत वर्षका क्रियाकलापबारे प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष बैधनाथप्रसाद कोइरीले गत आव २०७७/७८ को आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण जीतेन्द्रपुरुष ढकालले गरेका थिए ।

ज्येष्ठ नागरिक सङ्घले मनायो अल्जाइमर दिवस

ज्येष्ठ नागरिक सङ्घ पर्साले विश्व अल्जाइमर दिवस मनाएको छ । असोज ५ गते परेको विश्व अल्जाइमर दिवसको अवसरमा सङ्घले वीरगंजमा दिवस मनाएको हो ।

जेष्ठ नागरिक सङ्घ पर्साको आठौं साधारणसभा शुरू हुनुभन्दा अघि दिवस मनाइएको हो । कार्यक्रममा डा अनुपकृष्ण गुप्ताले अल्जाइमर तथा डिमेन्सिया रोगबारे प्रकाश पारेका थिए ।

उनले रोगका लक्षण, लाग्ने कारण, रोग पहिचान गर्ने उपचार विधि, रोगबाट बच्ने उपाय एवं अल्जाइमर रोगीको हेरचाह कसरी गर्नेबारेमा जानकारी गराएका थिए ।

उनले बुढेसकाल बच्चाको उमेर सरह हुने भएकोले परिवारजनले घरका ज्येष्ठ नागरिकलाई एक्लै नछोड्न आग्रह गरे । उनले सन्तुलित खानपिन र शारीरिक व्यायामले विभिन्न रोगबाट बच्ने सकिने चर्चा गर्दै मानसिक अभ्यासका क्रियाकलाप गर्न पनि सुझाए ।

उनले डिमेन्सिया भनेको नेपाल र अल्जाइमर भनेको काठमाडौं जस्तै भएको बताए । अर्थात् अल्जाइमर एक प्रकारको गम्भीर र संवदेनशील डिमेन्सियको क्षेत्रमा पर्ने रोग भएकोले सचेत बन्न आग्रह गरे । उनले अल्जाइमर रोगीको तथ्याङ्क नेपालमा करीब पाँच प्रतिशत देखिए पनि त्योभन्दा बढी हुन सक्ने बताए ।

उनले अल्जाइमर रोगीकोे स्मरणशक्ति गुम्दा उसले नियमितजसो गर्ने क्रियाकलापलाई पनि बिर्सन सक्ने बताए । उनले वृद्धावस्थामा बिर्सने बानी बढ्दै जाने, मधुमेह, उच्च रक्तचाप, शरीर काम्ने जस्ता रोग लाग्ने भएकाले यस्ता रोगीहरूको देखभाल विशेष किसिमले गर्नुपर्ने बताए ।

उनले घरमा एकजना सदस्यलाई स्मरण शक्ति गुम्ने रोग लागेको छ भने ऊसँगै अधिकांश समय रहनुपर्ने, बाहिर जाने क्रममा नाम र घरपरिवारको सम्पर्क नम्बर लेखिएको ब्यान्डेज हातमा लगाइदिनुपर्ने, समय–समयमा औषधि तथा पौष्टिक आहार दिनुपर्ने, मानसिक खेल तथा क्रियाकलापको अभ्यासमा समय व्यतीत गर्नुपर्ने सुझाव दिए ।

डा श्यामसुन्दर दासले अल्जाइमर र डिमेन्सिया रोग मधुमेह र रक्तचाप भएका बिरामीलाई चाँडै लाग्ने भएकोले सचेत रहन आग्रह गरे । कार्यक्रममा सहभागीहरूले चिकित्सकसँग अल्जाइमर रोगबारे थुप्रै जिज्ञासा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here