राधेश्याम पटेल, परवानीपुर, २ असोज/

दशैं नजीकिंदै गर्दा दशैं लक्षित मालवस्तुको आयात बढेको छ ।

चालू आवको भदौ पहिलो सातादेखि मालसामानको आयात बढेको वीरगंज भन्सार सञ्चालन गर्ने नेपाल इन्टरमोडेल यातायात विकास समिति आइसिपी वीरगंजले जनाएको छ ।

अहिले दैनिक ७/८ सय सवारीसाधन भित्रिरहेको बताइएको छ । जबकि पछिल्लो दुई वर्ष कोरोना महामारीका कारण असारसम्म लकडाउन लाग्दा दैनिक मुश्किलले तीन सय गाडी मात्र भित्रिन्थे ।

नेपाल इन्टरमोडेल यातायात विकास समिति आइसिपी शाखा वीरगंजका प्रमुख कमल ज्ञवालीका अनुसार अहिले एलपी ग्याँस, डिजेल, पेट्रोल, सनफ्लावर, सोयाबिन, पामको कच्चा तेल (क्रुड आयाल), कार, जीप, भ्यान, ट्रकको चेसिस, खाद्यान्न सामग्री, ड्राइफ्रुट्स, कस्मेटिक, ट्रेडिङ, मेशिनरी तथा हार्डवेयर, लत्ताकपडाजन्य वस्तुलगायतको आयात ह्वातै बढेको छ ।

औद्योगिक कच्चा पदार्थमा फलाम, क्लिङ्कर, फलामको विलेट, फ्लाइ एस, जिप्समलगायतको आयात पनि बढेको छ । उनका अनुसार चालू आवको साउन र भदौ महीनामा मात्रै वीरगंज भन्सार मातहतको पुरानो वीरगंज भन्सार र आइसिपी गरी दुई नाकाबाट ४६ हजार ३६५ वटा सवारीसाधन भित्रिएका छन् ।

जसमध्ये एलपी ग्याँसको बुलेट दुई हजार ४२३, पेट्रोल ट्याङ्कर तीन हजार ५१, डिजेल ट्याङ्कर १८, ट्रकको नयाँ चेसिस २३, नयाँ जीप, कार ८८, नयाँ ट्याक्टर २८ र अन्य मालसामान बोकेका ४० हजार १७६ वटा सवारीसाधन भित्रिएका छन् ।

त्यसैगरी, नेपालबाट भारततर्फ रिफाइन तेल, डाबर नेपालका उत्पादन, धागो तथा अन्य सामान लिएर जाने सवारीसाधनको सङ्ख्या ६ हजार ४९ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here