प्रस, परवानीपुर, ३० भदौ/

वीरगंज महानगरका सरकारी विद्यालयहरूमा एक वर्ष पहिले शुरू गरिएको सिसिटिभी अनुदान कार्यक्रम असफल बन्दै गएको छ । ठेकेदारले सही समयमा सिसिटिभी जडान नगर्ने र जडान गरिएको सिसिटिभी पनि खराब भएपछि मरम्मत गर्ने व्यवस्था नहुँदा कार्यक्रम नै असफल साबित हुन थालेको हो ।

सिसिटिभी जडान गरिएका विद्यालयहरूमा पनि सञ्चालन गर्ने जनशक्ति विद्यालयमा नहुनुले झन् समस्या निम्त्याएको विद्यालयहरूको भनाइ छ । वीरगंज महानगरका ३२ वटा वडाको करीब २१ वटा विद्यालयमा गत वर्ष सिसिटिभी परियोजना शुरू गरिएको थियो ।

सरकारी विद्यालयको पठनपाठन तथा गतिविधिलाई क्यामरामार्फत नियन्त्रण गरी शैक्षिक वातावरणलाई प्रभावकारी बनाउन यो कार्यक्रम लागू गरिए तापनि आवश्यक प्राविधिक तयारी तथा लेखाजोखा नपुग्दा उक्त कार्यक्रम बालुवामा पानी खन्याएजस्तै बनेको विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन् ।

वीरगंज–१७ स्थित द्वारदेवी माविका प्रअ राजुकुमार मालीका अनुसार महानगरबाट हरेक विद्यालयले सिसिटिभी कार्यक्रम अन्तर्गत तीन लाख रुपैयाँ अनुदान पाएको थियो । जसमध्ये कतिपय विद्यालयमा पठाइएको अनुदानबाट सिसिटिभी क्यामरा जडान हुन सकेको थिएन ।

कोरोना महामारीको कारण विद्यालयको शैक्षिक अवस्था ठप्प हुँदF काम अगाडि बढ्न नसकेको हो । सिसिटिभी जडान गर्ने कार्यमा भीडभाड नगरी सम्पन्न गर्न सकिने भएपनि त्यसतर्फ महानगर र सिसिटिभी जडान गर्ने ठेकेदारले वास्ता नगरेका कारण कार्यक्रम नै प्रभावित बनेको हो ।

“केही विद्यालयमा जडान भयो, केहीमा भएन,” उनले भने, “पटक–पटक महानगरको शैक्षिक प्रशासन महाशाखलाई पत्राचार गरी समस्या समाधानको लागि ताकेदा गर्दा पनि कुनै सुनुवाइ भएको छैन ।” दुई वर्षको कोरोना महामारीमा पहिलो लहरमा अलौं माविमा क्वारेन्टाइन बनाइएको थियो ।

सो अवस्थामा क्वारेन्टाइनमा बस्नेहरूले कतिपय क्यामरा र तारसमेत उप्काएर फालेका थिए । अहिले क्यामरा बन्द अवस्थामा छ । वीरगंज–२८ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बगहीमा पनि सिसिटिभी सञ्चालनमा नरहेको प्रअ अरविन्दलाल कर्णले बताए । त्यसैगरी, वीरगंज–२१ स्थित गीता गजेन्द्रराज जोशी माविमा पनि छ महीनादेखि सिसिटिभी क्यामरा ठप्प रहेको विद्यालयले जनाएको छ ।

नगवा माविमा पनि सिसिटिभी सञ्चालनमा नरहेको विद्यालयका प्रअ गोपाल महतोले बताएका छन् । उनका अनुसार यो कार्यक्रम उनी उक्त विद्यालयमा नेराविमावि श्रीपुरबाट सरुवा भएर जाने बेलाभन्दा अघिको भएकोले आफूलाई खासै जानकारी छैन ।

नेरामावि सोलखपुरका प्रअ पुरुषोत्तम मिश्रका अनुसार उक्त विद्यालयमा पनि हालसम्म सिसिटिभी कार्यक्रम लागू भएको छैन । कोरोना महामारीका कारण दुई वर्षसम्म विद्यालय प्रभावित भएकाले कार्यक्रम प्रभावित भएको उनले बताए । वीरगंज– ३१ बेलवास्थित कोन्हिया माविमा पनि हालसम्म क्यामरा जडान हुन नसकेको प्रअ दयाकान्त झाले जानकारी दिए ।

महानगरले करीब ६० लाख खर्च गरेको उक्त परियोजना असफल भएको विषयमा वीरगंज महानगरको शैक्षिक प्रशासन महाशाखा बेखबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here