प्रस, गरुडा, ३० भदौ/

रौतहटमा पहिलोपटक सौर्य ऊर्जाबाट व्यावसायिक विद्युत् उत्पादन शुरू गरिएको छ । रौतहटको चन्द्रपुरमा चार मेगावाट क्षमताको व्यावसायिक विद्युत् उत्पादन शुरू गरिएको हो ।

अपि पावर लिमिटेडले सञ्चालनमा ल्याएको सौर्य विद्युत् आयोजनाले विद्युत् उत्पादन शुरू गरिसकेको र ३३ केभी प्रसारण लाइनमार्फत चन्द्रपुरस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा जोडिइसकेको आयोजनाले जनाएको छ ।

आयोजना डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रोजेक्ट नेपाल कम्पनीले गरेको छ ।

अपि पावर कम्पनी लिमिटेडको यस आयोजनाले मासिक पाँच लाख युनिटसम्म विद्युत् उत्पादन हुने कुशल प्रोजेक्ट नेपालका प्रबन्ध निर्देशक सन्दीप अग्रवालले जानकारी गराएका छन् । जिल्लाको चन्द्रपुर–५ मा १२ बिघा क्षेत्रफलमा चार सय वाटका ११ हजार एक सय १२ वटा सौर्य प्यानल जडान गरी आयोजनाले चार मेगावाट विद्युत् सौर्य शक्तिबाट उत्पादन शुरू गरिसकेको छ ।

आयोजनाबाट उत्पादित विद्युत् २५ वर्षसम्म नेपाल विद्युत् प्राधिकरणले खरीद गर्ने सम्झौता भएको आयोजनाले जनाएको छ ।

प्रतियुनिट सात रुपैयाँ ३० पैसाको दरले नेविप्राले आयोजनाबाट उत्पादित विद्युत् खरीद गर्ने सम्झौता भएको आयोजनाले जनाएको छ ।

चार मेगावाट विद्युत् रौतहटबाटै उत्पादन हुन थालेपछि जिल्लाको उत्तरी क्षेत्रमा विद्युत्को अभाव नहुने तथा पटक–पटक लाइन कटिरहने समस्या पनि समाधान हुने विश्वास स्थानीयले लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here