माले, ३० भदौ/सिन्ह्वा

मालद्वीप्समा यस वर्ष सन् २०२१ को अहिलेसम्म आठ लाखभन्दा बढी पर्यटक भित्रिएका छन् ।
पर्यटन मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार गत जनवरी १ देखि सेप्टेम्बर १३ सम्ममा आठ लाख नौ हजार ७६४ पर्यटक भित्रिएको जनाएको छ ।

अघिल्लो वर्ष सन् २०२० को तुलनामा १०४.४ प्रतिशतको दरले पर्यटकको सङ्ख्यामा वृद्धि भएको अधिकारीहरूले जनाएका छन् । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा तीन महीना मालद्वीप्सको सीमानाका बन्द गरिएको थियो ।

त्यही कारणले अघिल्लो वर्ष पर्यटकको सङ्ख्यामा कमी आएको विश्लेषण गरिएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै अगस्त महीनामा मात्रै एक लाख ४३ हजार ५९९ पर्यटक मालद्वीप्स भित्रिएका छन् ।

औसतमा दैनिक झन्डै चार हजार पर्यटक आउने गरेको पनि मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् । मालद्वीप्स भित्रिएका पर्यटकमध्ये सबैभन्दा धेरै पर्यटक भारतबाट आएको पनि तथ्याङ्कले देखाएको छ ।

कुल पर्यटकमध्ये २४.४ प्रतिशत पर्यटक भारतीय रहेको अधिकारीले जनाएका छन् । त्यसपछि धेरै पर्यटक रूसका रहेका छन् । रूसबाट २०.४ प्रतिशत पर्यटक आएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here