राधेश्याम पटेल, परवानीपुर, ३०/

नेपाल–भारत रेलसेवा सुरुआतको १७ वर्षपछि भारतबाट सामान बोकेर निजी रेल वीरगंज आइपुगेको छ ।

भारत, पश्चिम बङ्गालको हल्दिया बन्दरगाहबाट ९० वटा कन्टेनर बोकेर भारतीय निजी रेल सञ्चालन कम्पनी हिन्द टर्मिनल प्रालिको रेल वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह आइपुगेको हो ।

हल्दियाबाट ३२ घण्टामा उक्त रेल वीरगंज प्रवेश गरेको नेपाल इन्टरमोडेल यातायात विकास समितिको सुक्खा बन्दरगाहका अधिकृत तर्कराज जोशीले बताए ।

बिहान १० बजे सुक्खा बन्दरगाहमा सो रेल आइपुगेको हो । पहिलोचोटि आएको रेलले हल्दियाबाट खाद्यान्न सामग्री भएको २० फिटे ९० वटा कन्टेनर ल्याएको छ ।

यसअघि भारतीय सरकारी स्वामित्वको भारतीय कन्टेनर निगम (कोन्कर)को रेलले मात्र नेपालमा सेवा दिंदै आएको थियो । अब निजी क्षेत्रलाई पनि खुल्ला गरिएपछि कार्गो रेल सञ्चालन सम्भव भएको अधिकृत जोशीले बताए ।

सन् २०२१ जुलाईमा भएको रेलसेवा पुनरावलोकन सम्झौतामा दुई देशबीच नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा दिन पाउने प्रावधान समेटिएको थियो । निजी क्षेत्रको रेलले सेवा दिन पाउने गरी भएको सम्झौताको दुई महीना ६ दिनमा पहिलो निजी रेल नेपाल आएको समितिले जनाएको छ ।

हिन्द टर्मिनल प्रालिले २००५ देखि मुम्बईको जवाहरलाल नेहरू बन्दरगाहबाट शुरूमा वेयरहाउस सञ्चालन गर्दै लजिस्टिक व्यवसायमा हात हालेको थियो भने अहिले आफ्नै रेल सञ्चालन गर्न भारत सरकारबाट अनुमति पाएको छ ।

यस कम्पनीको भारतको जहावरलाल नेहरू पोर्ट, मुन्द्रा, हजिरा, चेन्नईमा आफ्नै कन्टेनर फ्रेट स्टेशन र दिल्लीको पलवारमा मल्टी मोडल रेल लिङ्क्ड लजिस्टिक पार्क सञ्चालनमा छ ।

बन्दरगाह सञ्चालनको ठेक्का पाएको प्रिस्टिन भ्याली प्रालि पनि आफ्नै रेलबाट मालसामान ढुवानी गर्ने तयारीमा रहेको प्रिस्टिनका अपरेशन हेड अतुल शर्माले जानकारी गराए । एक साताभित्रै प्रिस्टिनले पनि आफ्नो निजी कार्गो रेलबाट सामान लिएर वीरगंज आउने तयारी गरिरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here