राधेश्याम पटेल, परवानीपुर, ३० भदौ/
बाराका दुई र रौतहट जिल्लाका दुईवटा पालिकामा विद्यालय छाडेका र विद्यालयको मुख नदेखेका एक हजार ४४८ किशोरीले चालू शैक्षिक सत्र २०७८/७९ देखि विद्यालयमा पुनर्भर्ना रनयाँ भर्ना हुने अवसर पाएका छन् ।
आर्थिक, सामाजिक, घरायसी कारणले विद्यालय जानबाट वञ्चित तथा विद्यालय भर्ना भई बीचमा नै छाडेका किशोरीहरू लक्षित कार्यक्रम आरम्भ परियोजनाको कारण बारा जिल्लाका पचरौता नगरपालिका र आदर्श कोतवाल गाउँपालिका तथा रौतहट जिल्लाका कटहरिया र मौलापुर नगरपालिका एक हजार ४४८ जना किशोरी अहिले विद्यालय गएर अध्ययन गर्न थालेका छन् ।
युके एडको आर्थिक सहयोग पिपल इन नीडको प्राविधिक सहयोग र आसमान नेपाल तथा सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको साझेदारीमा चारवटा पालिकामा गत वर्षदेखि आरम्भ परियोजना सञ्चालनमा आएकोे हो ।
यो परियोजना अन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका अविवाहित तथा विवाहित र १५ देखि १९ वर्ष उमेरका विवाहित गरी जम्मा दुई हजार ४८४ जना किशोरीको चयन गरिएको थियो । दुवै उमेर समूहका यी किशोरीहरू विभिन्न कारणले विद्यालयबाहिर रहेका थिए ।
मुख्यतया सामाजिक मूल्य–मान्यता र अभिभावकमा साक्षरता तथा चेतनाको कमीकै कारण उनीहरू विद्यालय भर्ना हुन तथा नियमित जान सकेका थिएनन् । आरम्भ परियोजना अन्तर्गत बारा जिल्लाका पचरौता नगरपालिका र आदर्श कोतवाल गाउँपालिका तथा रौतहट जिल्लाका कटहरिया र मौलापुर नगरपालिकामा विद्यालयबाहिर रहेका किशोरीहरूको खोजी गरिएको थियो।
परियोजनाले घरधुरी सर्वेक्षणमार्फत चयन गरिएका दुवै जिल्लाका योग्य दुई हजार ४८४ जना किशोरीमध्ये बारा जिल्लाका पचरौता नगरपालिकाका ७५५ जना र आदर्श कोतवाल गाउँपालिकाका ६०२ तथा रौतहट जिल्लाका कटहरिया नगरपालिकाका ८२३ जना र मौलापुर नगरपालिकाका ३०४ जनालाई लक्षित गरी १२२ समूह निर्माण गरी सिकाइ केन्द्रमार्फत कक्षाहरू सञ्चालनमा ल्याएको परियोजना प्रबन्धक सञ्जीव गुप्ताले बताए ।
प्रत्येक समूहमा कक्षा सहजीकरणका लागि स्थानीय प्लस टु वा सोभन्दा माथि अध्ययन गरेका २० देखि ४० वर्ष उमेर समूहमा पर्ने महिलाहरूलाई सहजकर्ताका रूपमा चयन गरिएको थियो । छनोट भएका सहजकर्तालाई आधारभूत तथा पुनर्ताजगी तालीममार्फत क्षमता अभिवृद्धि गरी केन्द्रमा नियमितरूपमा आठ महीनासम्म तालीम दिइएको थियो । सिकाइ केन्द्रमा सामान्य अवस्थामा दैनिक चार घण्टा र कोभिडकालमा अढाई घण्टा नेपाल सरकारको अनौपचारिक शिक्षा भाग एक र भाग दुई अध्यापन गराइएको प्रबन्धक गुप्ताले बताए ।
आठ महीना सिकाइ केन्द्रमा पढेका किशोरीहरूमध्ये १० देखि १४ उमेर समूहका कुल एक हजार ९३७ जनामध्ये एक हजार ४१६ जना र १५ देखि १९ वर्ष उमेर समूहका कुल ५४७ जनामध्ये ३२ जना विद्यालय भर्ना भएका छन् । उनीहरू विभिन्न कक्षामा अध्ययनरत छन् । यो उमेर समूहका किशोरीहरू शारीरिक बनोटका हिसाबले विद्यालयमा अध्ययनरत अन्य छात्राहरूको तुलनामा ठूला र उमेरदार देखिने भएकाले विद्यालय जान विभिन्न कारणले नरुचाउने गरेको पाइन्छ ।
१० देखि १९ वर्षसम्मको अवधिमा विद्यालय नगएकाहरूलाई विद्यालयमा भर्ना भएर अध्ययन गर्नु चुनौतीपूर्ण कार्य हो तर पनि दुवै जिल्लाका एक हजार ४४८ जना किशोरी स्वतःस्र्फूतरूपमा विद्यालय भर्ना हुनु नै परियोजनाको सफल पक्ष मान्न सकिन्छ ।
विद्यालय नगएकाहरूको हकमा पनि परियोजनाले विभिन्न सीपमूलक तालीम दिएर उनीहरूलाई रोजगारको बाटोमा हिंडाउने प्रयास गरेको छ । निश्चित समयको तालीम किशोरीहरूको अभिरुचि अनुसार दिने र उनीहरूलाई स्वरोजगारमा लाग्न सीपका साथै आर्थिक सहयोग पनि गर्ने परियोजनाको योजना छ । विद्यालय भर्ना भएका साथै सीपमूलक तालीमतर्फ गएका किशोरीहरूले नमूना कार्य गरिरहेको देख्न सकिन्छ ।
सबैभन्दा पहिले त उनीहरूले घरमा भाइबहिनीलाई पढाउने कार्य गर्दै आएका छन् भने केहीले आफ्नो अभिभावकलाई समेत साक्षर बनाउने कार्य गर्दै आइरहेका छन् । यसबाहेक उनीहरूले आफ्नो समुदायका अन्य महिलाहरूलाई समेत सशक्त बनाउने कार्य गर्दैछन् । महीनावारी हँुदा सफा कपडाको समेत प्रयोग गर्नबाट वञ्चित युवती, महिलाहरूलाई सेनिटरी प्याड प्रयोग गर्न सिकाउँदैछन् ।
त्यस्तै, प्रजनन् स्वास्थ्यका बारेमा सिकेका कुरा सिकाउने, बालविवाहबाट बालिकाहरूमा हुने स्वास्थ्यसम्बन्धी हानिबारे जानकारीका साथै बालविवाह रोक्ने अभियानमा पनि उनीहरूको सहयोगी भूमिका रहँदै आएको छ । त्यस्तै, बालविवाह रोक्नुका साथै वृहत् जनचेतना जगाउने उद्देश्यले हाल आरम्भ सञ्चालनमा रहेका चारवटै स्थानीय तहमा मन्दिर तथा मठहरूबाट जनचेतनासम्बन्धी जिङ्गल बजाइन्छ ।
त्यस्तै, लैङ्गिक हिंसा रोकथामका लागि महीना दिनमा एकपटक धार्मिक, सामाजिक र राजनीतिक अगुवाहरूको भेला गर्ने र उनीहरूलाई समाजबाट बालविवाह, दाइजो प्रथा आदि कुरीति रोकथामका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न उत्प्रेरित गर्ने जस्ता कार्य गरिरहेका छन् ।
बालिकाहरूमा आएको यो परिवर्तनबाट आदर्श कोतवाल गाउँपालिका वडा नं ६ र ८ का वडाध्यक्षले आरम्भ रेडियो कार्यक्रम नियमित श्रवण गर्नका लागि स्पीकर/साउन्ड बक्सको व्यवस्था गरिदिएका छन् । अब सो वडाका मानिसहरू जनचेतनामूलक कार्यक्रम एकसाथ बसेर सुन्ने गर्छन् ।