मल सञ्चय नगरेका किसानहरू अभाव झेल्दै

0
14

ओमप्रकाश चौधरी, सेढवा, २९ भदौ/

रासायनिक मल सञ्चय नगरेका पर्साका ग्रामीण भेग किसानहरूलाई अहिले मलको समस्या भएको छ ।

अगहनी धानबाली अन्तर्गत सोना मन्सुली, मोटरी मन्सुली तथा बासमतीलगायतका धानको बाला निस्किने समयमा अहिले रासायनिक मल युरियाको अभाव किसानहरूले झेल्नुपरेको हो ।
धानबालीमा आवश्यक भएको बेला प्रत्येक वर्ष किसानहरूले मलको अभाव झेल्नुपरेको छ र यस वर्ष पनि सोही नियति भोग्न किसानहरू बाध्य छन् ।

जीराभवानी र जगरनाथपुर गाउँपालिकाका केही किसानले प्रत्येक वर्ष धानबालीको बेला मलको अभाव सिर्जना हुने भएकोले धानबाली रोप्नुअगावै मल सञ्चय गरेका छन् । मल सञ्चय गरेका किसानहरूलाई हाइसन्चो भएपनि सञ्चय नगरेका किसानहरू भने मलको लागि दौडधूप गर्दैछन्।

धानको रोपाइँभन्दा पहिले मल पाएको समयमा मल सञ्चय गरेका कारण अहिले समस्या नभएको जगरनाथपुर गापा–५ चिलझप्टीका किसान शम्भु साहले बताए । प्रत्येक वर्ष मलको समस्या भोग्नुपरेकोले यसपटक मल आवश्यक नभएको बेला संस्थामा मल आएपछि आफूले खरीद गरेर सञ्चय गरेको उनले बताए ।

विगतका वर्षहरूमा नेपालमा मलको अभाव भएको बेला सीमापारि भारतीय बजारबाट किसानहरूले मल ल्याएर गर्जाे टार्दै आएका थिए । तर यसपटक भने भारतमा नै मलको अभाव भएको छ । त्यहाँका किसानहरूले नेपालमा मल सहज भएको बेला तस्करी गरी मल लाने गरेका थिए । नेपालमा मल उपलब्ध भएको बेला भारतीय बजार भङ्गाहा तथा इनरुवा बजारमा तस्करीबाट पुगेको थियो ।

धानबालीका लागि नेपाली किसानहरूलाई अहिले अन्तिमपटक मल छर्न जरुरी भएकोले उनीहरू कृषि सहकारी संस्थामा भौतारिंदै गरेको जगरनाथपुर गाउँपालिका–३ बिजबनिया निवासी कृषक रमेश रामले बताए । उनले नेपालमा मल छैन र भारतमा पनि मलको अभाव भएकाले अन्योलमा परेको बताए ।

कतै मल छैन तर मल लुकाएका व्यापारीहरूले रु ८५० पर्ने ५० किलोको प्रतिबोरा युरिया मल रु १३ सम्म बिक्री गरेका छन् । अहिले महँगोमा मल खरीद गर्ने किसानहरूलाई पनि युरिया मल उपलब्ध छैन । कालोबजारी गर्ने व्यापारीहरूको गोदाम पनि रित्तिएको छ ।

स्थानीय तहले आआफ्नो पालिकामा मलको मूल्य निर्धारण गरेका थिए । जगरनाथपुर गापाले ५० किलोको प्रतिबोरा युरिया मल रु ८५०, जीराभवानी गापाले रु ८७५ र ठोरी गापाले रु ९५० मूल्य निर्धारण गरेका थिए । मोल निर्धारण गर्ने दायित्व मात्र निर्वाह गरेका पालिकाहरू अहिले मलको हाहाकार मच्चिंदा किसानहरूलाई मल दिलाएर राहत प्रदान गर्ने सवालमा भने पछि परेका छन् ।

जीराभवानी गापा–२ स्थित मारुती नन्दन कृषि सहकारी संस्थाका सञ्चालक सत्यनारायण साहले सातामा साल्ट ट्रेडिङ कम्पनीले एक सय बोरा मल दिंदै आए पनि गत सातादेखि ३० बोरा मल मात्रै दिइरहेको बताए । उनले ३० बोरा मल एक घण्टा नबित्दै सकिएको बताए । कम्पनीले जीराभवानी गाउँपालिकालाई साताको बुधवार मात्र मल दिने गरेको छ । भोलि बुधवार हो र कति मल दिन्छ थाहा नभएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here