विव्यस गठन, गत वर्ष डेढ करोड फ्रिज

0
12

प्रस, परवानीपुर, २९ भदौ/

पर्साको बहुदरमाई नगरपालिका वडा नं ८ मा सञ्चालित देवनन्दन देवराज नमूना माध्यमिक विद्यालय रामनगरीमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

विद्यालय परिसरमा आयोजित अभिभावक भेलाले चार सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । अभिभावकहरूबीचको रस्साकस्सी र विवादका कारण पौने दुई वर्षदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको थिएन ।

जसको कारण गत वर्ष मात्रै शिक्षा विभागले विद्यालयको लागि बहुदरमाई नगरपालिकाको खातामा पठाएको डेढ करोड रुपैयाँ फ्रिज भएको थियो । त्यसै कारण अभिभावकहरूले सर्वसहमतिले चारजना सदस्यलाई छनोट गरेको विद्यालयका प्रधानाध्यापक मनोजकुमार श्रीवास्तवले जानकारी गराए । नवगठित समितिका सदस्यहरूमा रञ्जीत साह, हरिन्द्र पडित, रेखादेवी गोसाइन, प्रतिमादेवी साह रहेका छन् ।

विद्यालयका प्रधानाध्यापक उक्त समितिको सदस्य सचिवमा रहने शिक्षा ऐनमा व्यवस्था छ । त्यसैगरी, ९ सदस्यीय समितिको शिक्षक प्रतिनिधिमा शिक्षक कर्मचारीको तर्फबाट मनोज सहनीलाई चयन गरिएको छ ।

भदौ ३१ गते ६ सदस्यीय समितिले संस्थापक, चन्दादाता, शिक्षाप्रेमी, बुद्धिजीवी वर्गबाट एकजना महिलासहित थप दुईजना सदस्यलाई मनोनीत गर्नेछ । त्यसैगरी, विद्यालय रहेको वडाका अध्यक्ष वा निजले तोकेको प्रतिनिधि पदेन सदस्य रहने व्यवस्था छ । यसरी समिति पूर्णरूपमा ९ सदस्यीय भइसकेपछि वरिष्ठ सदस्यको अध्यक्षतामा बसेको बैठकले एकजनालाई अध्यक्ष चयन गर्ने नियम छ ।

पर्साका चारवटा नमूना विद्यालय नृसिंह वीरगंज, जिल्ला उचाङ्गल पोखरिया, सरस्वती मावि ठोरी र देवनन्दन देवराज मावि रामनगरी हुन् । नमूना विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक क्षेत्र विकासको लागि सरकारले वार्षिक डेढ करोड रुपैयाँ दिने गुरुयोजना लागू गरेको छ । देवनन्दन देवराज माविमा करीब आठ सय विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयले कक्षा १२ सम्म वाणिज्य र शिक्षा सङ्कायमा अध्यापन गराउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here