प्रस, बिरुवागुठी, २९ भदौ/
पर्सागढी नगरपालिका अन्तर्गत पर्ने जनता सडकमा सञ्चालित सार्वजनिक सवारीसाधनहरूको भाडादर मङ्गलवार कायम भएको छ । पर्सागढी नगरपालिकाको सिमाना मनवा गाउँदेखि जीतपुर बजारसम्मको भाडादर कायम गरिएको हो ।
यातायात व्यवस्थापन तदर्थ समिति पर्सागढी नगरपालिका, जनप्रतिनिधि र नारायणी यातायात अटो सङ्घ, गुप्ता अटो सङ्घका प्रतिनिधिहरूबीच सहमतिमा भाडादर कायम गरिएको
हो ।
सार्वजनिक सवारीसाधनहरूमा मनवादेखि जीतपुरको भाडा रु ७५, पिपरोडदेखि जीतपुरसम्म रु ६०, बडनिहारदेखि जीतपुरसम्म रु ५०, पारसचोकदेखि जीतपुरसम्म रु ४०, मिलनचोकदेखि जीतपुरसम्म रु ३० र स्थानीय भाडा रु २० कायम गरिएको यातायात व्यवस्थापन तदर्थ समितिका सदस्य अरुणप्रकाश रेग्मीले बताए ।
बैठकमा पर्सागढी नगरपालिकाका वडाध्यक्षहरू तुलाराम महतो, वेदमनदास थारू, उद्घवबहादुर उप्रेती, रामनारायण गौरो, नारायणी यातायात अटो सङ्घका प्रतिनिधि फिरोज मियाँ, गुप्ता अटो सङ्घका प्रतिनिधि अमित वर्मालगायतको सहभागिता थियो ।