सर्पदंशबाट बालकको मृत्यु भएपछि सिम्रौनगढ अस्पतालमा तोडफोड

0
16

प्रस, सिम्रौनगढ, २८ भदौ/

सर्पदंशको उपचार बेलैमा नपाएपछि बालकको मृत्यु भएको विरोधमा बारा, सिम्रौनगढ नगरपालिका–७ स्थित नगर अस्पतालमा तोडफोड भएको छ ।

सिम्रौनगढ नपा–२ मौवाही निवासी सुमोद साहका १८ महीने बालक अनुराज गुप्तालाई सर्पले टोकेपछि उपचार गराउन अस्पताल पुगेका साहलाई यहाँ उपचार सम्भव नहुने भनेपछि कलैया लैजाने क्रममा बालकको मृत्यु भएको थियो ।

घटनापछि आक्रोशित परिवारजनले अस्पतालमा तोडफोड गरेका छन् । तोडफोडको क्रममा अस्पतालका पाँचजना कर्मचारी प्रयागप्रसाद कुशवाहा, फर्मासिस्ट रवीन हुसेन, कम्प्युटर अपरेटर वीरेश यादव, शम्भुप्रसाद साह, रामजीवन ठाकुर, एचए लालबाबू मुखिया, स्टाफ नर्स निर्मला ठाकुर र सिएमए सुरेन्द्र साह घाइते भएका छन् । उनीहरूको कलैया र सिम्रौनगढ अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, तोडफोडमा कम्प्युटर, ल्याबटप, इसिजी मेशिन, मोनिटरलगायतका उपकरण क्षतिग्रस्त भएको छ भने केही औषधिमा पनि क्षति पुगेको अस्पतालले जनाएको छ ।

आक्रोशित स्थानीयवासीले नगरपालिका र अस्पतालको बाटोमा टायर बाली नगरप्रमुख विजयशङ्कर यादवविरुद्ध नाराबाजी गरेका थिए ।

मृतकका पिता सुमोदले अस्पतालका चिकित्सकले उपचार नगरी कुरामा अल्झाएर अबेर गर्दा आफूले छोरा गुमाएको बताए ।

यसबारेमा सिम्रौनगढ नगर अस्पतालका प्रमुख डा जीतेन्द्रे यादवले घटनाबारे प्रेस विज्ञप्तिमार्फत जानकारी गराउने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here