विभिन्न आपराधिक क्रियाकलापमा संलग्न फूलहसन अन्सारी पक्राउ

0
15

प्रस, वीरगंज, २८ भदौ/

विभिन्न आपराधिक घटनामा संलग्न रहेको कसूरमा विवेक सिंह भन्ने फूलहसन अन्सारीलाई सोमवार पर्सा प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान ४ बजे प्रहरीले वीरगंज महानगरपालिका–२४ रामगढवास्थित घरबाट ३३ वर्षीय फूलहसन अन्सारीलाई पक्राउ गरेको जनाएको छ ।

२०७६ साउन २४ गते वीरगंज महानगर–४ बिर्ता बजार र साउन २८ गते वीरगंजको घण्टाघरनजीकै तरकारी बजारमा सुतली बम पड्काइ भयत्रास फैलाएको तथा रङ्गदारी मागेको आरोपमा पर्सा प्रहरीले अन्सारीलाई पक्राउ गरेको हो ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २०७६ भदौ ४ गते वीरगंज महानगर–२४ बस्ने इनुस अन्सारी, जौवाद अन्सारी, सद्दाम अन्सारीलाई चार थान गोली र सुतली बमसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका इनुस, जौवाद र सद्दामलाई पर्सा जिल्ला अदालतले जनही दुई वर्ष छ महीना कैद र रु २५ हजार जरिवाना गरेको थियो ।

सो घटनापछि मुख्य योजनाकार फूलहसन फरार भई भारत, मुजफ्फरपुरमा बस्दै आएका थिए। उनले त्यहाँ अङ्कित पटेलको नामबाट आधार कार्ड बनाइ बस्दै गरेको र बेलाबखत भारत, रक्सौलबाट वीरगंजका उद्योगी–व्यापारीलाई धम्की दिंदै रकम असुली गर्ने गरेको पर्सा प्रहरीले जनाएको छ ।

फूलहसनमाथि विस्फोटक पदार्थ, खरखजानासम्बन्धी तथा सङ्गठित अपराध मुद्दामा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि, फूलहसन २०६५ पुस ९ गते वीरगंज महानगर–१३ बस्ने राजेश क्याललाई गोली हानी हत्या गरेको अभियोगमा पक्राउ परेका थिए । उनी कैद भुक्तान गरी रिहा भएका थिए ।

कैद भुक्तान गरिरहेका उनलाई दशैंको अवसरमा सरकारले २०७४ असोज ८ गते ५६५ दिनको बाँकी कैद मिनहा गरेको थियो । कारागारबाट छुटेपछि उनी पुनः आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रनाउ खनालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here